लस एन्जलस – विमानको ककपिटमा छिर्ने प्रयासपछि एकजना पुरुषले विमानबाटै हाम फालेका छन् । यो घटना अमेरिकाको लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने तयारीका क्रममा धावनमार्गमा गुडिरहेको अवस्थामा ती व्यक्तिले जहाजको इमर्जेन्सी ढोका खोलेर हामफालेका हुन् । स्थानीय समय अनुसार साँझको सात बजेर १० मिनेट जाँदा साल्ट लेक सिटी जान लागेको युनाइटेड एक्सप्रेसको फ्लाइटमा उक्त घटना भएको थियो । ट्याक्सी वेबाट धावनमार्गतर्फ जाने क्रममा चालक दलले ती यात्रु आफ्नो सिटबाट उठेको देखेका थिए ।

ती पुरुषले विमानको ढोका खोल्दै आपत्कालीन अवस्थामा प्रयोग गरिने चिप्लेटीको प्रयोग गरेर भाग्न खोजेको सङ्घीय उड्डयन प्रशासन (एफएए)ले जनाएको छ । उनलाई विमानस्थलकै ट्याक्सी वेमा पक्राउ गरेर अस्पताल पु¥याइएको थियो । अमेरिकामा पछिल्लो समय उडानका बेला हुने घटनामा वृद्धि भैरहका छन् । यो वर्ष मात्र झण्डै ३ हजारवटा त्यस्ता घटनाहरू भएको समाचारमा जनाइएकोे छ ।

एनबीसी न्यूजले उल्लेख गरेअनुसार ती यात्रु आपत्कालीन ढोकातर्फ लाग्नुभन्दा पहिले ककपिटको ढोकातर्फ अघि बढेको र त्यसपछि विमान आफ्नो गेटमा फर्किएको थियो । अधिकारीहरूले ती यात्रुको नियत र घटनाबारे बुझ्न अनुसन्धान सुरु भैरहेको जनाएका छन् । सन् १९९५ यता यस्ता विवरण राख्न थालिएयता गत महिना सबैभन्दा धेरै कानुन तोड्ने सम्भावित घटनाहरू देखिएको एफएएले जनाएको छ ।

धेरै घटना चाहिँ यात्रुहरूले मास्क लगाउन अस्वीकार गर्ने भन्ने थियो । २५ मेसम्ममा तीन सय ९४ जना यात्रुहरूले चालक दलको काममा हस्तक्षेप गरेकोु एफएएको विवरणमा भनिएको छ । गत वर्षमा एक सय ८३ जना यात्रुहरू अनुसन्धानको दायरामा आएका थिए । स्रोतः बीबीसी