काठमाडौं – मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक कार्यक्रम प्रधानमन्त्री केपी शर्मा ओलीले आज सोमबार शुभारम्भ गर्ने हुनुभएको छ । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा हेटौंडामा हुने शुभारम्भ कार्यक्रमको जननेता मदनको ७० औँ जन्मजयन्तीका अवसरमा प्रधानमन्त्री ओलीले भिडियो कन्फेरेन्समार्फत उद्घाटन गर्ने कार्यक्रम तय भएको प्रतिष्ठानले जनाएको हो ।

बागमती प्रदेश सरकारले स्थापना गरेको स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा स्नातक तहसम्म अध्यापन गराउन अघिल्लो महिना अनुमति प्राप्त गरेको हो । चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानलाई तीन विधामा अध्यापन गराउन अनुमति दिएको छ। जनस्वास्थ्य, फार्मेसी र मेडिकल ल्याब टेक्नोलोजी अध्यापन गराउन अनुमति प्राप्त भएअनुसार शैक्षिक कार्यक्रम शुभारम्भ गर्न लागिएको प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईंले जानकारी दिनुभयो ।

उहाँका अनुसार आयोगले जनस्वास्थ्यमा २० जना, फार्मेसीमा ३० जना र मेडिकल ल्याब टेक्नोलोजीमा ३० जनालाई अध्यापन गराउन अनुमति प्रदान गरेको छ । २०७६ असोज २ गते स्थापना भएको प्रतिष्ठानको केन्द्रीय कार्यालय बागमती प्रदेशको राजधानी हेटौंडामा छ ।

कानुनी रूपमा प्रतिष्ठान स्थापना ऐन, २०७६ को साथै, पदाधिकारी व्यवस्थापन तथा सेवा सुविधासम्बन्धी नियमावली, २०७७, आर्थिक प्रशासन नियमावली, २०७७, कर्मचारी सेवा, सर्त र सुविधासम्बन्धी नियमावली २०७७, अस्पताल सञ्चालन तथा व्यवस्थापन नियमावली, २०७७ र शिक्षक सेवा, सर्त र सुविधासम्बन्धी नियमावली २०७७ जारी भई कार्यान्वयनमा आइसकेको छ ।

स्वास्थ्य बिमा कार्यक्रममार्फत जनतालाई स्वास्थ्य सेवामा जोड्ने, दक्ष चिकित्सक तथा स्वास्थ्यकर्मी तयार गर्ने, जनस्वास्थ्य कार्यक्रमलाई योजनाबद्ध ढंगले जनताको घर दैलोमा पु¥याउने, आयुर्वेद तथा वैकल्पिक चिकित्सालाई स्थापना गर्ने, अनुसन्धान कार्यलाई व्यवस्थित गर्दै अनुसन्धानको क्षेत्र फराकिलो बनाउनेजस्ता नीतिलाई लिएर प्रतिष्ठान अगाडि बढिरहेको रजिष्ट्रार प्रसाईँले बताउनुभयो ।

उहाँका अनुसार प्रतिष्ठान स्थापना भएको करिब दुई सय ९८ दिनमै प्रतिष्ठानलाई आवश्यक पर्ने ऐन, नियमावली, पूर्वाधार तयार गर्न आवश्यक जमिनको बन्दोबस्त, अनुसन्धान केन्द्र स्थापना र सञ्चालन, तोकिएको सबै मापदण्ड पूरा गरी यसै शैक्षिक सत्रबाट तीनवटा स्नातक तहका विषयका बिपिएच, बि.फार्मेसी र वि.एम.एल.टीको कक्षा सञ्चालनका लागि चिकित्सा शिक्षा आयोगबाट अनुमति तथा सिट संख्यासमेत निर्धारण भई शैक्षिक कार्यक्रम सञ्चालन गर्नेजस्ता अवसर यो प्रतिष्ठानलाई प्राप्त भएको छ । रासस