काठमाडौं — युरोकप २०२० अन्तर्गत नेपाली समय अनुसार आइतबार राति पौने एक बजे भएको खेलमा विश्व नम्बर एक बेल्जियमले साविक विजेता पोर्चुगलसँग भएको प्रतिस्पर्धात्मक खेलमा सङ्घर्षपूर्ण जित निकालेको छ । खेलको पहिलो हाफको ४२ औँ मिनेटमा बेल्जियमका लागि थोर्गान हाजार्डले गोल गर्दै टिमलाई दिलाएको अग्रता नै बेल्जियमको लागि जित बन्यो । उत्कृष्ठ खेल प्रस्तुत गरेको बेल्जियमले साविक विजेता पोर्चुगललाई निकै दवावमा राखेको थियो ।

पहिलो हाफमा बलियो देखिएको बेल्जियमलाई खेलको अन्तिम २० मिनेट पोर्चुगलले निकै दवाव राख्दै गोलका अवसर सिर्जना गरेको थियो । एक गोलले पछि परेको पोर्चुगल दोस्रो हाफमा आफ्नो खेलमा केही आक्रामक बने पनि पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा १–० गोलको अन्तरले हार व्यहोर्नु पर्यो ।


विश्व नम्बर एक बेल्जियम समूह चरणको खेलमा पनि अपराजित टिम हो । साविक विजेता पोर्चुगललाई हराउँदै बेल्जियम क्वाटरफाइनलमा प्रवेश गरेको छ । अब उसले इटालीसँग क्वाथरफाइनलमा प्रतिस्पर्धा गर्नेछ । स्पेनको सेभियास्थित ला कार्टुया रङ्गशालामा भएको उक्त खेल निकै प्रतिस्पर्धात्मक थियो ।