बाजुरा – बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका–१ मुक्तिकोटमा खाद्यान्न सङ्कट देखिएको छ । लामो समयसम्मको खडेरी र कोरोना भाइरसको महामारीले गर्दा मुक्तिकोट गाउँमा खाद्यान्न सङ्कट देखिएको हो ।

स्थानीयवासी बलबहादुर वि.कले गाउँमा खाद्यान्न सकिएको जानकारी दिनुभयो । उहाँका अनुसार सो गाउँमा करिव चारसय दलित परिवार बसोबास गर्दछन् । उहाँले भन्नुभयो, ‘लकडाउनले दैनिक ज्यालामजदुरी गर्न जान सकिएको छैन । गाँउमा रोजगारी पनि छैन । घरमा खाद्यन्न भएको खाद्यन्न पनि सकियो ।’

लामो खडेरीले गहुँ तथा जौ लगायत अन्नबाली सुकेर गएपछि खाद्यान्नको अभाव भएको स्थानीय रामबहादुर वि.कले जानकारी दिनुभएको छ । ती गाउँका अधिकांश युवा कामका लागि भारत जाने गर्दछन् । कोरोना महामारीका कारण पछिल्लो समय अधिकांश युवा गाउँ फर्किदा खाद्यन्न समस्या आएको बताइएको छ ।

स्थानीय उत्पादनले एकमहिना पछि छाक नटर्ने मुश्किल पर्ने स्थानीयवासी औजनी विकले बताउनुभयो । उहाँले अधिकांश परिवार १२ महिना बजारका खाद्यान्नमा निर्भर हुनुपर्ने बाध्यता रहेको बताउनुभयो ।

मुुक्तिकोट गाँउमा चरम खाद्य सङ्कट र बालबालिका कुपोषणका चपेटामा रहेको स्वामीकार्तिक गाउँपालिका सुचना अधिकारी कुबेर शाहीले बताउनुभयो । उहाँले यसबाट बालवालिका, गर्भवती र ज्येष्ठ नागरिक कुपोषणको शिकार बनेको जानकारी दिनुभयो ।

बालबालिकाको कुपोषणबाट मृत्यु हुने गरेको बताइएको छ । गाँउमा चरम खाद्य सङ्कट हुँदा सङ्घीय तथा प्रादेशिक सरकारबाट सहयोग नभएको बताइएको छ । गाँउपालिकाले भने गाँउमा केही खाद्यान्न सहयोग गर्दै आएको जनाएको छ ।

गरिब घर परिवार पहिचान बोर्डले वि.सं २०७२ मा निकालेको प्रतिवेदनमा सो गाँउपालिकामा ७५ प्रतिशत घरपरिवार गरिबीको रेखामुनि रहेको उल्लेख छ । प्रतिवेदनमा गााउँपालिकामा दुई हजार एक सय ८५ परिवार मध्ये एकहजार आठ सय ३८ परिवार चरम गरिबीको रेखामुनि रहेको जनाइएको छ ।– रासस