कर्णाली – कर्णाली प्रदेशमा ९१ प्रतिशत कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा मात्र निको भएर घर फर्कनेको संख्या १२४ पुगेको छ ।

कर्णालीमा एक लाख २० हजार २७८ को आरटी पीसीआर र ३३ हजार ४ सय ८४ को एन्टिजेन परीक्षण गरिएकामा २७ हजार ७ सय ३५ जनामा सङ्क्रमण पुष्टि भएको विज्ञप्ति स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशको सार्वजनिक गरेको छ । कूल सङ्क्रमितमा २५ हजार १ सय २९ अर्थात् ९१ प्रतिशत निको भएर घर फर्केको निमित्त निर्देशक डा. रविन खड्काले जानकारी दिए ।

“पछिल्लोे दुई सातायता कोरोना सङ्क्रमण दर ओरालो लागेको छ । अहिले सङ्क्रमितभन्दा निको हुनेको सङ्ख्या बढ्दै गएको छ”, निर्देशक डा खड्काका अनुसार, “नयाँ भेरियन्टसहितको कोरोना महामारीका कारण गत वैशाख १० गतेयता बढेको त्रासदी पनि कम हुँदै गएको छ । यसले सङ्क्रमण जित्नेको आत्मबल बढेको पाएका छौँ ।”

उहाँले आइसोलेसनमा बस्ने दुई हजार सङ्क्रमितको सङ्ख्या घटेर एक हजार २ सय ३० मा पुगेको बताउनुभयो । उहाँका अनुसार मृत्युको सङ्ख्यामा पनि कमी आएको छ । पछिल्लो २४ घण्टामा १ सय १० जनामा कोरोना पुष्टि भएको र सङ्क्रमणबाट तीन व्यक्तिको मृत्यु भएसँगै हालसम्म यो प्रदेशमा कोरोनाका कारण ३ सय ७ जनाको मृत्यु भएको छ ।

कोरोनाले सुर्खेतमा हालसम्म १ सय ७७, सल्यानमा ५०, रुकुमपश्चिममा २९, दैलेखमा २२ र जुम्लामा आठ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ । –रासस