काठमाडौं – दोलखा जिल्लामा निर्माणाधिन राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट बिजुली उत्पादनको परीक्षण हुने भएको छ । आगामी साताबाट माथिल्लो तामाकोसीबाट विद्युत उत्पादको परीक्षण गर्न लागिएको हो ।

उक्त आयोजनाको ४८ घण्टाको सुरुङ परीक्षणको काम सकिएको र त्यहाँबाट उत्पादिन विद्युतलाई राष्ट्रिय प्रणालीमा जडान गर्नका लागि आजबाट तार तान्ने काम सुरु भएको छ । तार तान्ने काम आगामी बिहीबारभित्र सक्ने र त्यसपछि लगतै विद्युतको परीक्षण उत्पादन सुरु हुने माथिल्लो तामाकोसी जलविद्युत आयोजनाका प्रवक्ता गणेश न्यौपानेले बताउनु भएको छ ।

कुल चार सय ५६ मेगावाट विद्युत उत्पादन क्षमता रहेको उक्त आयोजनाका ६ वटा युनिटहरुमध्ये आगामी साता पहिलो युनिटबाट ७६ मेगावाट बिजुलीको परीक्षण उत्पादन गरिने छ । आयोजनाका प्रवक्ता न्यौपानेका अनुसार यसपछि अर्को युनिटबाट असार महिना पछाडि थप ७६ मेगावाट बिजुली परीक्षण उत्पादन गर्छौं र भदौ महिनाबाट पूर्ण क्षमतामा बिजुली उत्पादन सुरु गर्ने तयारीमा रहेको छ ।

माथिल्लो तामाकोसीबाट उत्पादित बिजुलीलाई नयाँ खिम्ती सबस्टेशनबाट राष्ट्रिय प्रसारणमा जोडिने छ । यसअघि नयाँ खिम्ती सबस्टेशन निर्माणको टुङ्गो नलाग्दा तामाकोशी करिडोरबाट आएको बिजुली सीधै ढल्केबर लैजाने गरी खिम्ती सबस्टेशनमार्फत् जोडिएको थियो । अब भने खिम्तीको नयाँ सबस्टेशनमार्फत् नै तामाकोशीबाट उत्पादिन बिजुली राष्ट्रिय प्रसारणमा जोडिने छ । तामाकोसी करिडोरका सबै बिजुली नयाँ खिम्ती सबस्टेशनबाटै राष्ट्रिय प्रसारणमा जोडिने छन् ।

नेपाल विद्युत प्राधिकरणले माथिल्लो तामाकोसीको बिजुलीलाई राष्ट्रिय प्रणालीमा जडान गर्नका आइतबार बिहानदेखि खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण लाइन बन्द गरेको छ । खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण लाइन असार १९ गतेसम्म बन्द रहने बताइएको छ । यो प्रसारण लाइन बन्द हुँदा ढल्केबरदेखि कोहलपुरसम्मका सबस्टेसनहरुबाट विद्युत आपूर्ति हुने क्षेत्रका औद्योगिक ग्राहकहरुको विद्युत् कटौती हुनसक्ने प्राधिकरणले जनाएको छ । विद्युत कटौती हुँदा काठमाडौँ उपत्यकाका ग्राहक पनि प्रभावित हुनेछन् । यो परिस्थितिमा विद्युतको व्याकअपमा रहेको मकवानपुर जिल्लास्थित कुलेखानी जलविद्युत आयोजनाबाट विद्युतको व्यवस्थापन गर्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।