काठमाडौं –उपत्यकामा जारी निषेधाज्ञा थप गर्ने या नगर्नेबारे आज छलफल हुने भएको छ । महामारीको रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणको कारण गत बैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा लागु भएको थियो । गत हप्तादेखि केही खुकुलो पारिएको निषेधाज्ञालाई अब हटाउने की अझै केही थप गर्ने भन्ने सन्दर्भमा आज ४ बजे उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्न लागको हो ।

आज बस्ने तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञालाई केही थोरै परिमार्जन गरेर अझ एक हप्ता थप गर्न सक्ने स्रोतको भनाइ छ । गत बैशाख १६ गतेदेखि जारी भएको निषेधाज्ञा पटक पटक टपिंदै र स्वरुपमा केही परिवर्तन र खुकुलो बनाउँदै आएको छ । पछिल्लो पटक थपिएको निषेधाज्ञाको अवधि भोली असार १४ गते मध्यरातबाट सकिंदै छ । पछिल्लो निषेधाज्ञामा समय तोकेर सबै किसिमका पसलहरु खोल्न, भाडाका ट्याक्सी तथा निजी सवारी साधनहरुलाई जोर विजोर प्रणालीमा सञ्चालन गर्न दिइएको छ ।

तर धेरै जनघट हुने विद्यालय, विश्वविद्यालय, पार्टी प्यालेस, मठ–मन्दिरहरुका साथै सार्वजनिक यातायातका सवारी–साधनहरु चलाउन अझै निषेध गरिएको छ । यसैबीच राष्ट्रिय यातायात व्यवसायी महासंघले परिस्थिति केही सहज भएको भन्दै सार्वजनिक यातायात सञ्चालनमा ल्याउन सरकारसँग अनुरोध गरिरहेको छ ।

सरकारले बाह्य तथा आन्तरिक उडान पनि सञ्चालन गर्ने यस अघि नै निर्णय गरिसकेको छ । अन्तर्राष्ट्रिय उडान सुुरु भैसकेको र आन्तरिक उडान पनि यही असार १७ गते बाट सञ्चालन हुने भएको छ । यी सबै परिवेशलाई हेर्दा आज बस्ने उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सार्वजनिक यातायात सञ्चालनमा केही मापदण्ड बनाएर सञ्चालन गर्न दिने निर्णय गर्न सक्ने छ ।