काठमाडौं– मङ्गलबारदेखि हुने भनिएको नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण स्थगित भएको छ । आगामी महिना स्पेनमा हुने भनिएको नेपाल, र नामिबिया स्कटल्याण्ड बीचको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज कोरोना भाइरस सङ्क्रणको कारण खेल्न स्थगित भएकोले नेपाली टोलीको प्रशिक्षण हाललाई रोकिएको हो ।
उक्त बन्द प्रशिक्षण स्थगित भए पनि सामान्य प्रशिक्षण भने जारी रहने क्यानले जनाएको छ । बन्द प्रशिक्षणमा सहभागि हुने १९ खेलाडीलाई प्रशिक्षण दिन मुख्य प्रशिक्षक डेभ ह्वाटमोर हालै श्रीलङ्काबाट नेपाल आएका थिए ।
नेपालले गत वर्ष माघ तेस्रो साता त्रिवि क्रिकेट मैदानमा पहिलो अमेरिका र ओमानसँग पहिलो सिरिज खेलेको थियो । आइसीसी विश्व कप क्रिकेट लिग दुई विश्वकपसम्म पुग्ने सिँढी हो ।
बन्द प्रशिक्षणमा ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, पारस खड्का, दिपेन्द्रसिंह ऐरी, आशिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, कमलसिंह ऐरी, अविनाश बोहरा, सन्दीप जोरा, शाहब आलम, शुशन भारी, शरद भेषवाकर, विक्रम शोब र पवन सर्राफ थिए ।

लिग दुईमा नेपालसँगै अमेरिका, ओमान, स्कटल्यान्ड, नामिविया, युएई र पपुवा न्युगिनी रहेका छन् । उक्त लिग सन् २०१९ को अगस्तदेखि सुरु भएको हो । लिगको शीर्ष तीन टोलीले विश्वकप क्रिकेटको छनौटमा सोझै स्थान बनाउने छन् । बाँकी चार टोलीले विश्वकप छनोटमा प्रवेश पाउनका लागि फेरि प्लेअफ खेल्नेछन् ।

उक्त प्लेअफमा लिग दुईबाट आउने चार टोली तथा च्यालेन्ज लिगबाट आउने दुई टोलीले प्रतिस्पर्धा गर्नेछन् । विश्वकप छनोटमा सुपर लिगका पुछारका पाँच, लिगबाट आएका तीन तथा प्लेअफबाट आउने दुई टोली गरी १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । विश्वकप छनौटको विजेता र उपविजेता टोलीले विश्वकप क्रिकेटमा भाग लिन पाउने छन् ।