युरोकप फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा इटालीले अष्ट्रियासँग सङ्घर्षपूर्ण जित निकालेको छ । निर्धारित ९० मिनेटको समयमा दुवै टिमबाट गोल गर्ने अवसर सिर्जना गरेता पनि गोल हुन सकेन । निर्धारित ९० मिनेटको समयमा अस्ट्रियाका मार्को अर्नाउतोविचले गोल त गरेका थिए, तर उक्त गोललाई अफसाइट भएको भन्दै मान्यता दिइएन ।
अतिरिक्त समय थप गरिएको खेलमा इटालीले गोल गर्दै अष्ट्रियालाई स्तब्ध बनायो । शनिबार राति भएको अन्तिम १६ को खेलको निर्धारित समयमा दुवै तर्फबाट गोल नभएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । थप गरिएको अतिरिक्त समयमा इटालीका लागि फेदेरिको किएसा ९५ औं मिनेटमा र मातेओ पेसिनाले १०४ आंै मिनेटमा गोल गर्दै इटालीलाई जित दिलाए । अस्ट्रियाका लागि भने सासा कालाज्ड्जिकले ११४ औं मिनेटमा सान्त्वना स्वरुप एक गोल गरे ।
इटालीले आज आइतबार राति हुने साविक विजेता पोर्चुगल र विश्व नं एक मानिएको बेल्जियमबीच हुने खेलको विजेतासँग आगामी जुुलाई २ मा क्वाटरफाइनलको भिडन्त हुने छ ।