नयाँदिल्ली –कोरोना भाइरसको महामारी झेल्दै आएको भारतमा सङ्क्रमणको दर घट्दै जाँदा पछिल्लो २४ घण्टामा ५१ हजार ६ सय ६७ जना नयाँ सङ्क्रमित फेला परेका छन् । कुल १७ लाख ३५ हजार ७ सय ८१ जनाको नमुना परीक्षण गर्दा यो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
भारतीय केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार यो अवधिमा ६४ हजार ४ सय २७ जना सङ्क्रमणमुक्त भएका छन् । सोही अवधिमा कोरोना भाइरस सङ्क्रमणबाट २४ घण्टामा एक हजार तीन सय २९ जनाको मृत्यु भएको छ । अहिलेसम्म भारतमा ३ करोड १ लाख ३४ हजार ४ सय ४५ जनामा सङ्क्रमण पुष्टि भएको छ । ती मध्ये २ करोड ९१ लाख २८ हजारभन्दा धेरै सङ्क्रमणमुक्त भएका छन् भने ३ लाख ९३ हजार ३ सय १० जनाले ज्यान गुमाएका सरकारी तथ्याङ्क छ । भारतमा अहिले पनि ६ लाख १२ हजारभन्दा धेरै कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । यसैबीच भारतमा ३० करोड ७९ लाख ४८ हजारभन्दा धेरै नागरिकले कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाइसकेका छन् ।