न्युजिल्याण्डले अन्तर्राष्ट्रिय टेष्ट क्रिकेटको उपाधि जित्न सफल भएको छ । न्युजिल्याण्डले भारतलाई आठ विकेटले हराउँदै पहिलो पटक भएको टेष्ट च्याम्पियन सिपको उपाधि जितेको हो ।
साउथम्पटनमा भएको खेलमा भारतले प्रस्तुत गरेको एक सय ३९ रनको लक्ष्य खेलको आरक्षित अन्तिम दिनमा न्युजिल्याण्डले मात्र दुई विकेटको क्षतिमा सहजै जित निकालेको हो । छैटौं दिनको खेल मात्र दुई विकेटको क्षतिमा ६४ रनबाट अगाडि बढाएको भारतले दिनको खेलमा ५० ओभर बाँकी रहँदा एक सय ७० रनमा समेटिएको थियो । विकेटकीपर ब्याट्सम्यान ऋषभ पन्तले ४१ रनको उत्कृष्ट पारी खेले पनि आफ्नो टिमलाई ठूलो योगफलसम्म पुर्याउन नसक्दा पराजयको सामना गर्नु पर्यो । साउथम्पटनमा टस हारेर पहिला ब्याटिङ गर्ने निम्ता पाएको भारतले पहिलो पारीमा दुई सय १७ रनमा समेटिंदा न्युजिल्याण्डले २४९ रन बनाउँदै ३२ रनको अग्रता कायम गर्न सफल भयो । दोस्रो पारीमा भारत मात्र १७० रनमा खुम्चियो ।
न्युजिल्याण्डले भने जितका लागि एक सय रनभन्दा बढी आवश्यक छँदा ओपनरद्वय टम लाथम र डेभोन कोनवेको विकेट गुमाएर कमजोर सुरुवात गर्यो । तर अनुभवी रोस टेलर र कप्तान केन विलियम्सनको जोडीले न्युजिल्याण्डलाई पहिलो पटक प्रमुख उपाधि दिलाउन सफल रह्यो । विलियम्सन ५२ र रोस टेलर ४७ रन बनाएर अविजित रहे । यो जितसँगै न्युजिल्याण्डले उपाधि चुम्न सफल भएको हो । तस्विर–आईसीसी