जापान– जापानमा गम्भीर प्रकृतिका साइबर अपराधका घटनाहरु भैरहेकोले त्यस्ता कार्यलाई रोक्दै निरुत्साहित गर्न नयाँ विशेष संरचना बनाउन माग गरिएको छ । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार राष्ट्रिय प्रहरी कार्यालयले प्रहरी सम्बन्धी विद्यमान कानुन पर्याप्त नभएको भन्दै त्यसलाई समेत संशोधन गर्न आवश्यक रहेको बताइएको छ । विभिन्न देशबाट हुने साइबर अपराधसँगै अन्य ठूला तथा गम्भीर प्रकृतिका साइबर अपराधका विरुद्धमा कारबाही गर्न नयाँ संरचना बनाउन माग गरिएको हो । विशेषगरी चीन, रुस, उत्तर कोरियालगायत देशहरुबाट यस्तो अपराध भएको जापानको बुझाइ छ ।

पुरानोको कानुनी व्यवस्थाका कारण कतिपय कार्यमा कठिनाइ भएको र नयाँ समस्याहरुको समाधानका लागि पुरानो कानुन अपुग भएको प्रहरीको निश्कर्ष छ । कानुन संशोधन र साइवर सम्वन्धी ठूला समस्या समाधानका लागि छुट्टै निकाय गठन गराउने बारेमा प्रहरीको केन्द्रीय कार्यालयबाट आन्तरिक गृहकार्य भइरहेको पनि समाचारमा जनाइएको छ । साइबर र इन्टरनेटसम्वन्धी नयाँ नयाँ र ठूला तथा गम्भीर प्रकृतिका समस्याहरु धेरै आउन थालेकाले यसका लागि दक्ष जनशक्तिसहितको छुट्टै व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको प्रहरी अधिकारीहरुको भनाइ छ ।

त्यहाँको प्रहरीले उल्लेख गरेअनुसार कतिपय नयाँ विषयहरुमा पर्याप्त र प्रभावकारी अनुसन्धान गर्न नजान्दा अपराधीहरुले प्रमाण नस्ट गर्ने गरेको र दोषी पत्ता लगाउन गाह्रो भएको छ । साइबर सम्बन्धी नयाँ विभाग गठन भएमा त्यसले सूचना सङ्कलन र विश्लेषण गर्नुको साथै सरोकारवालाहरुसँग समन्वय गर्न पनि सहज हुने बताइएको छ । साइबर नीतिलाई प्रभावकारी बनाउन, साइबर अपराधहरु न्युनीकरण लगायतका कार्य गर्न सहयोग पुग्ने प्रहरी अधिकारीहरुले बताएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको सदस्यसमेत रहेका एक जना चिनियाँ इन्जीनियरले जापानका विभिन्न कम्पनीहरुमा साइबर आक्रमण गरेको पत्ता लागेपछि प्रहरीले यस्ता अपराधहरु विरुद्ध कार्य गर्न छुट्टै विषेश विभागको आवश्यकता रहेको निष्कर्ष निकालेको हो ।