हेटौंडा – आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रममा नगरको विकासको आधारशिला पहिचान गर्दै हेटौंडा उप–महानगरपालिकाले २ अर्ब ६० करोड १५ लाख ५२ हजार रुपैयाँ बजेट सार्वजनिक गरेको छ ।

नगरको बिकासका लागि वडा स्तरबाटै पुर्वाधार निर्माण गर्ने उद्देश्यसहित उप–महानगरले पुर्वाधार निर्माण सहितको योजनालाई अघि सार्दै आज बिहीबार निती तथा कार्यक्रम सहित आगामी आर्थिक बर्षको लागि बजेट सार्वजनिक गरेको हो ।

हेटौंडा बागमती प्रदेशको एउटामात्रै उपमहानगरपालिका हो । नवौं नगरसभाको वैठकमा उपमेयर मीनाकुमारी लामाले नीति तथा कार्यक्रमसहित आगामी आवका लागि २ अर्ब ६० करोड १५ लाख ५२ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी हुन् । जुन चालु आवको तुलनामा ६ करोड ७६ लाख १८ हजार रुपैयाँ बढी हो ।

विनियोजित बजेटको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतबाट २४ करोड ३८ लाख, राजस्व बाँडफाँडबाट ५६ करोड ८ लाख, प्रदेश सरकारको विभिन्न अनुदानबाट प्राप्त १२ करोड ६६ लाख सङ्घीय सरकारको अनुदानबाट १ अर्ब २ करोड, नगर विकास कोषबाट अनुदान ९ करोड र चालुवर्षको मौज्दातबाट ५६ करोड व्यहोरिने उपमेयर लामाले बताइन् ।
बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ २५ करोड ८७ लाख, आर्थिक विकासतर्फ १२ करोड ९८ लाख, सामाजिक विकासतर्फ ८१ करोड ९५ लाख, पूर्वाधार विकासतर्फ १ अर्ब ३० करोड ४५ लाख, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ५ करोड ४४ लाख रुपैयाँ र संस्थागत विकास, सेवा प्रवाह र सुशासनतर्फ ३ करोड २९ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

बजेटमा वडा तथा वस्तीस्तरीय पूर्वाधारका लागि ३२ करोड ७० लाख, हेटौंडामा बसपार्क र टर्मिनल भवन निर्माणका लागि १४ करोड, वहुउद्देश्यीय व्यापारिक भवन निर्माण सुरु गर्न १५ करोड, चक्रपथको स्तरोन्नति गर्न तीनकरोड, संघ, प्रदेश र जिल्ला समन्वय समितिसँग साझेदारी आयोजना सञ्चालनका लागि ४ करोड ५० लाख रुपैयाँ तथा कर्रा करिडोर निर्माण गर्न १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको उपमेयर लामाले जानकारी दिइन् ।

उपमहानगरले डाइलसिस मेसिन, प्लाज्मा उत्पादन मेसिन तथा स्वास्थ्य उपकरण खरिदका लागि ५५ लाख तथा औषधी खरिदका लागि ३७ लाख रुपैयाँ विनियोजन गरेको छ । कोरोना महामारीको रोकथाम तथा नियन्त्रण र उपचारका लागि भने बजेटले चासो दिएको छैन । बजेटमा आगामी आर्थिक वर्षमा विभिन्न खेलकुद कार्यक्रमका लागि ३ करोड ७२ लाख ८० हजार रुपैयाँ विनियोजन गरिएको छ ।

नगरसभाले नीति तथा कार्यक्रम र बजेट भने पास गरेको छैन । निती तथा कार्यक्रम सहित पेश भएको बजेट छलफल गरेर पास गर्ने बताउर्दै मेयर महतले स्थानीय तहमा निर्वाचित भएर आएपछि आफूहरुले ल्याउने अन्तिम बजेट भएका कारण अपुरा योजनाहरु पूरा गर्ने गरी पुँजीको परिचालन गर्ने बताउनुभयो । उहाँले दशौं अधिवेशन भदौ महिनामा गर्ने जानकारी दिनुभयो ।