ललितपुर – आर्थिक वर्ष २०७८/०७९ को वार्षिक बजेट पेश गर्ने सन्दर्भमा ललितपुर महानगरपालिकामा विवाद उत्पन्न भएको छ । बजेटको नीति तथा कार्यक्रम गर्दा आफुहरुसँग छलफल नै नगरी बजेट ल्याउन लागेको भन्दै कार्यपालिका तथा नगरसभा सदस्यहरुले तीव्र असन्तुष्टि व्यक्त गर्दा आज पेश गर्ने भनिएको बजेट कार्यक्रम स्थगित हुन पुगेको हो । नगरसभा सदस्यहरुले एक विज्ञप्ति जारी गर्दै बहुमत कार्यपालिका तथा नगरसभा सदस्य नगरसभामा सहभागी नहुने भन्दै कार्यक्रम बहिस्कार गरेका छन् ।

महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले गत असार ९ गते नीति तथा कार्यक्रम कार्यपालिकामा पेस गरेको र कार्यपालिकाका बहुमत सदस्यले अध्ययन गर्नुपर्छ भनिरहँदा आजै गर्नुपर्ने भनेर बलमिच्याइँ गरी नगरसभामा पेश गरेर पास गर्न खोजेको कार्यपालिका तथा नगरसभा सदस्यहरुले आरोप लगाएका छन् ।

कार्यपालिका एवं नगरसभा सदस्यहरुले जारी गरेको विज्ञप्तिमा ‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को मर्म र भावना प्रतिकूल हुने गरी डाकिएको नगर सभामा हामी कूल ३९ कार्यपालिका सदस्यहरु मध्ये बहुमत हिस्सा २६ जना तथा ९२ जना नगर सभा सदस्यमध्ये ६६ जना उपस्थित हुन नसक्ने व्यहोरा जानकारी गराइन्छ,’ भनी उल्लेख गरिएको छ ।