काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ भित्र सबै नागरिकलाई खोप लगाइने बताउनुभए्को छ । नेपाल बाल सङ्गठनको केन्द्रीय सभाको अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री आलीले खोपको अभाव क्रमशः सुल्झँदै गएको बताउनुभएको हो ।

भर्चुअल माध्यममार्फत कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अबका वर्ष यस्ता कार्यक्रम भर्चुअल माध्यमबाट नभई प्रत्यक्ष भेटेर नै गर्न सकिने बताउनुभयो । यस अगाडि प्रधानमन्त्रीले आफूले घोषणा गरेको मंसिरको निर्वाचन अगाडि नै सबैलाई खोप लगाइसक्ने बताउनुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले बालबालिका नै देशको भविष्य भए पनि विगतमा राजनीतिक र सामाजिक व्यवस्थाका कारण सबै बालबालिकाले उपयुक्त लालनपालन, शिक्षा र खेलकुद जस्ता पाउनै पर्ने हक समेत नपाएको उल्लेख गर्नुभएको छ । यसतर्फ विगतमा प्रायः सबै सरकारको ध्यान नगएको र कहिले काहीँ बालमन्दिर जस्ता संस्था निजी स्वार्थका माध्यम हुन पुगेको प्रधानमन्त्रीको भनाइ थियो ।