काठमाडौं— नेपाल आयल निगमले फेरी पनि पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको जनाउँदै नेपाल आयल निगमले पनि मूल्य बढाएको छ । निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो ।
निगमले हवाई इन्धनको पनि मूल्य बढाइएको छ । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर २० अमेरिकी डलर वृद्धि गरिएको निगमले जनाएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार स्वचालित मूल्य प्रणालीअनुसार समायोजनपछि पेट्रोलको नयाँ खुद्रा बिक्री मूल्य १ सय २७ रुपैयाँ, डिजेल र मट्टीतेलको समान १ सय १० रुपैयाँ हुनेछ ।

भारतमा भन्दा नेपालमा पेट्रोलियम पदार्थको मूल्य सस्तो भएको र सीमावर्ती क्षेत्रबाट तेल तस्करी हुने गरेको पनि आयल निगमको भनाइ छ नेपालबाट भारतमा हुने पेट्रोलियम पदार्थको तस्करी रोक्न नेपाल आयल निगमले एकीकृत योजना बनाउने भएको छ । नेपाल भारत सीमा क्षेत्रमा हाल कायम रहेको पेट्रोल, डिजेलको मूल्यमा नेपालतर्फ सस्तो भएकाले भारततर्फ भइरहेको तस्करी रोक्न एकीकृत योजना तर्जुमा गरिने निगमले जनाएको छ । हाल भारतभन्दा नेपालमा पेट्रोल प्रतिलिटर ३७ रुपियाँ र डिजेल प्रतिलिटर ४३ रुपियाँ सस्तो रहेको निगमले जनाएको छ ।
खुला सीमा र सीमा क्षेत्रका बासिन्दाको पारिवारिक सम्बन्ध भएकाले पनि तस्करी नियन्त्रण गर्न कठिनाइ भइरहेको स्थानीय प्रशासनको दाबी रहेको पनि निगमले जनाएको छ ।