काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोभिड–१९ को सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी हुने जिल्ला क्रमशः घट्दै गएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित हुने जिल्ला क्रमशः घट्दो क्रममा रहेको बताउनुभएको छ ।

गत असार १ गते ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित हुने जिल्लाको संख्या ४३ थियो । आठ दिन पछाडि आज ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित हुने जिल्लाको संख्या ३६ मा झरेको छ ।

पौडेलका अनुसार ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लाहरुमा मोरङ, सुनसरी, झापा, धनुषा, पर्सा, महोत्तरी, बारा, सिरहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट, दोलखा छन् । यसैगरी गोरखा, नवलपरासी पूर्व, म्याग्दी, बागलुङ, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, नवलपरासी पश्चिम, सुर्खेत, डडेलधुरा, कैलाली, कञ्चनपुर, बैतडी र अझाममा पनि सक्रिय सङ्क्रमितको संख्या ५ सयभन्दा बढी रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

२ सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्ला १४ वटा छन् । मन्त्रालयको तथ्याङ्क अनुसार २ सयभन्दा बढी सक्रिय सङ्क्रमित हुने जिल्लामा उदयपुर, सङ्खुवासभा, पाँचथर, सप्तरी, रौतहट, सर्लाही, रामेछाप, कास्की, लमजुङ, पर्वत, तनहुँ, गुल्मी, अर्घाखाँची, रोल्पा, दैलेख, सल्यान, रुकुम पश्चिम, जुम्ला र डोटी छन् ।