गण्डकी – पोखरा महानगरपालिकाको नवौं नगर सभा पोखरा सभागृहमा आजदेखि सुरु भएको छ । नगरसभामा महानगरप्रमुख मानबहादुर जिसीले आर्थिक वर्ष ०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । नगरप्रमुख जिसीले, नीति तथा कार्यक्रम सभासमक्ष पेश गर्दै ‘समुन्नत पर्यटकीय पोखरा’लाई रुपान्तरण गर्न पूर्वाधार, स्वास्थ्य, पर्यटन र कृषिलाई प्राथमिकतामा राखेको बताउनुभएको छ ।

महानगरप्रमुख जिसीले कोभिड १९ नियन्त्रणका लागि महानगरले आवश्यक भौतिक पूर्वाधार, अस्पतालमा पर्याप्त जनशक्ति व्यवस्थापन, पिसिआर परीक्षण, कन्ट्राक्ट ट्रेसिङ लगायतका कार्यलाई निरन्तरता दिने बताउनुभयो । उहाँले कोभिड १९ को कारणले प्रभावित भएका व्यवसायीलाई कर छुट तथा राहतको व्यवस्था गर्ने बताउनुभएको छ । त्यसैगरी वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिलाई लक्षित गरी कार्यक्रमहरु ल्याइएको पनि प्रमुख जिसीले बताउनुभयो ।

त्यसैगरी महानगरपालिकाले जनप्रतिनिधिलाई पाँच दिन पर्यटन बिदा दिने भएको छ । महानगरले आन्तरिक पर्यटनमा टेवा पुर्याउन जनप्रतिनिधिलाई पाँच दिनका लागि पर्यटन बिदा दिने भएको हो । यसअघि गण्डकीमा प्रदेश सरकारले आर्थिक बर्ष ०७८/०७९ का लागि प्रस्तुत गरेको बजेटमा सरकारी कर्मचारीलाई एक महिनाको तलब बराबरको सुविधा उपलब्ध गराएर बिदा पर्यटनको अवधारणा ल्याएको थियो ।

महानगर प्रमुख जिसीले पोखरा क्षेत्रका फिर्के खोला, विजयपुर खोला, सुइखेत, भोटी,स्याङ्खुदी फुस्रे खोला लगायतका खोलाको मापदण्ड परिमार्जन गर्ने उल्लेख गर्नुभएको छ । पोखरा क्षेत्रका खोला नाला वरिपरिका क्षेत्रमा अतिक्रमण गरेर मापदण्ड मिची भौतिक संरचना निर्माण भएको बारम्बार विवाद आउने गरेको छ । उहाँले मापदण्ड परिमार्जनको लागि विज्ञ सहितको कार्यदल बनाएर अध्ययन गरी उक्त कार्यदलको सिफारिसको आधारमा कार्यपालिकाले मापदण्ड परिमार्जन गर्ने बताउनुभयो ।

महानगर प्रमुख जिसीले आफ्नो ४ बर्षको कार्यकालमा महानगर क्षेत्रमा २६८ सडक ढलान, ८२१ सडक कालोपत्रे र २९१ सडक ग्राभेल गरेको दावी गर्नुभएको छ । मुख्य सहरी सडकहरूको स्तरोन्नति गर्ने क्रममा महानगरपालिका, सडक विभाग र प्रदेश सरकारको सहकार्यमा ४० करोड लागतमा २२ किमी सडक अस्फाल्ट कंक्रिट गर्ने काम धमाधम भइरहेको प्रमुख जिसीले उल्लेख गर्नुभयो ।

उहाँले विजयपुर बेगनास सडक खण्डमा १४ किमी सडक अस्फाल्ट प्रविधि मार्फत कालोपत्रे भैरहेको बताउँदै महानगरले प्रमुख पर्यटकीय सम्पदा फेवाताल, बेगनासताल, रुपाताल, खास्टेताल लगायतका ९ वटा तालको सिमाङ्कनसहित दीर्घकालीन संरक्षणको योजना समेत तयार पारेको बताउनुभएको छ ।

प्रमुख जिसीले महानगरका विभिन्न वडाहरूमा सहरी स्वास्थ्य केन्द्र स्थापना गरी ४६ वटा स्वास्थ्य चौकी र सहरी स्वास्थ्य केन्द्रमार्फत सेवा प्रवाह गरेको जनाउनुभयो । उहाँले स्थानीय कृषि तथा अन्य उत्पादनलाई ब्रान्डिङ गर्ने, मौलिक कृषि उत्पादनको समर्थन मूल्य तोक्ने, उद्यमशीलता प्रवद्र्धन गर्ने, कृषि उत्पादनलाई पर्यटन स्तरका होटल एवं रेस्टुरेन्टको सहकार्यमा मेनोमा प्राथमिकता दिने योजना अगाडि सारेको बताउनुभयो ।

महानगरले पोखरा क्षेत्रका प्राकृतिक सम्पदा नीजि क्षेत्रलाई भाडामा लगाउने योजना बनाएको छ । प्रमुख जिसीले प्रस्तुत गरेको नीति तथा कार्यक्रमा फेवाताल, सेती नदी तथा रामघाट क्षेत्र संरक्षणको जिम्मा निजी क्षेत्रलाई सार्वजनिक–निजी साझेदारी अवधारणाअनुसार दिने उल्लेख गरिएको छ ।

प्रमुख जिसीले पातले छाँगो, फेवातालको मुहानको सिल्टेनड्याम र सेती खोँचको सम्झौता अन्तिम चरणमा पुगेको र यस क्षेत्रका अन्य प्राकृतिक सम्पदाको संरक्षण र सम्बर्द्धन गर्नका लागि अध्ययन भइरहेको बताउनुभएको हो ।