काठमाडौं– खेलाडीहरुलाई मासिक रुपमा दिइने आर्थिक सुविधालाई निरन्तरता दिन उपराष्ट्रपति नन्दबहादुर पुनले सरकारको ध्यानाकर्षण गराउनु भएको छ । उपराष्ट्रपति पुनले आज बुधबार ओलम्पिक डे–२०२१ को अवसरमा आयोजित कार्यक्रममा नेपाल ओलम्पिक कमिटीले खेलाडीलाई मासिक रुपमा दिइने गरेको आर्थिक सुविधा निरन्तर नभएको गुनासोहरु आइरहेको भन्दै आर्थिक सुविधालाई निरन्तरता दिन सरकारको ध्यानाकर्षण गराउनु भएको हो ।

उपराष्ट्रपति पुनले फुटबल र क्रिकेटबाहेकका राष्ट्रिय खेलहरुको नियमित प्रशिक्षण नहुने गरेको भन्दै सबै खालको राष्ट्रिय खेलको नियमित प्रशिक्षणको पूर्वाधार विकास गर्न जोड दिनुभयो ।

खेलकुदको विकासको लागि पूर्वाधार पहिलो शर्त हो भन्दै उपराष्ट्रपति पुनले ‘खेलाडीलाई मासिक रुपमा दिइने आर्थिक सुविधा निरन्तर नभएको गुनासो आइरहेको छ । म निरन्तरता दिन ध्यानाकर्षण गराउन चाहन्छु । फुटबल र क्रिकेट बाहेकका राष्ट्रिय खेलहरु नियमित प्रशिक्षण पनि नभएको चर्चाहरु चल्ने गरेको छ । सबै राष्ट्रिय खेलको नियमित प्रशिक्षण गर्न पूर्वाधार विकासमा ध्यान दिन आग्रह गर्दछु’– भन्नुभयो ।

उपराष्ट्रपति पुनले नेपालले ओलम्पिक खेलको विकासका लागि दिर्घकालीन योजना बनाउन पर्नेमा जोडदिंदै दिर्घकालीन योजना बनाएर ओलम्पिकमा लगानी गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ । ओलम्पिक यात्राका लागि हामीले दिर्घकालीन योजनाहरु बनाउनु पर्दछ भन्दै कति औं ओलम्पिकसम्म पुग्दा हाम्रा खेलाडीहरुले समूह चरण पार गरेर ओलम्पिकमा पुग्ने हो र कतिऔं ओलम्पिकसम्ममा हामीले पदक जित्ने लक्ष्य राख्ने हो ! सरकार, ओलम्पिक कमिटी र सम्बद्ध सबै पक्षले दिर्घकालनीन योजना बनाएर अघिबढ्नु पर्नेमा जोड दिनुभयो ।
सोही कार्यक्रममा बोल्दै नेपाल ओलम्पिक कमिटीको अध्यक्ष जीवनराम श्रेष्ठले ओलम्पिकको अभियानले विश्वलाई खेलकुदमा समावेश गराउने गरेको तथा शारीरिक र मानसिक रुपमा तन्दुरुस्त राखेको धारणा व्यक्त गर्नुभएको थियो । अध्यक्ष श्रेष्ठले समाजमा शान्ति स्थापना गर्न विकासका लागि खेल क्षेत्रको महत्वपूर्ण भूमिका हुने दावी समेत गर्नुभयो ।