नवलपरासी – पश्चिम नवलपरासीका किसानहरुले ५० प्रतिशत अनुदानमा कृषियन्त्र पाएका छन् । किसानहरुले पम्पिङसेट लगायतका कृषि सामग्री पाएकोमा खुसी व्यक्त गर्दै खेती किसानी कार्यमा यसले ठूलो सहयोग पुग्ने बताएका छन् । नवलपरासी पश्चिमस्थित कृषि ज्ञान केन्द्रले त्यहाँका केही किसानहरुलाई कृषि उत्पादनमा सहयोग गर्ने उद्देश्यले कृषियन्त्रहरु उपलब्ध गराएको जनाएको छ ।

पश्चिम नवलपरासीमा रहेको पाल्हिनन्दन गाउँपालिका वडा नं. २, ३ र ४ का एक सय ५० जना किसानहरुलाई कृषि ज्ञान केन्द्रले उपलब्ध गराएको उक्त सामग्र बेलासपुर कृषक समूहमार्फत् कृषि यन्त्रहरु वितरण गरिएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत ब्लक विकास कार्यक्रममार्फत् कृषि ज्ञान केन्द्र पश्चिम नवलपरासीको ५० प्रतिशत र कृषकहरूको ५० प्रतिशत लगानीमा ४६ लाख ७६ हजार रुपैयाँ बराबरको उक्त कृषि यन्त्रहरू वितरण गरिएको हो ।
कृषकहरुलाई वितरण गरिएको कृषि यन्त्रमा १७ थान पम्पिङ सेट, २ थान भुसा बनाउने मेसिन, १४ थान पानी तान्ने मोटर, ३५ थान बोर्डिङ्ग, ५१ थान सिडबिन, ५५९ फिट सेक्सन पाईपलगायत का सामग्री उपलब्ध गराएको छ ।