युरोकपको चालु फुटबल प्रतियोगिताको समुह ‘डी’ को विजेता बन्दै इङ्गल्याण्ड नकआउट चरणमा प्रवेश गरेको छ । इङ्गल्याण्डले रहिम स्टर्लिङको गोलको मद्दतमा चेक रिपब्लिकलाई पराजित गर्दै युरोकप २०२० को नकआउट चरणमा प्रवेश गरेको हो ।

गएराति घरेलु मैदान वेम्वलीमा भएको खेलको १२ औं मिनेटमा स्टर्लिङले गोल गर्दै आफ्नो टिम इङ्गल्याण्डलाई जित दिलाएका हुन् । यसअघिको पहिलो खेलमा पनि स्टर्लिङले नै गोल गर्दै क्रोएसियालाई हराउन इङ्गल्याण्ड सफल भएको थियो । इङ्गल्याण्ड स्कटल्याण्डसँग भने गोलरहित बराबरी खेलेको थियो । दुई जीत र एक बराबरी खेलेको इङ्गल्याण्डले ७ अङ्क सहित समूहको शीर्षस्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेको छ । इङ्गल्याण्डले अब समूह ‘एफ’को उपविजेतासँग अन्तिम १६ मा खेल्ने छ ।

त्यसो त चेक रिपब्लिकले इङ्गल्याण्डसँग हार व्यहोरेता पनि समूह ‘डी’ को तेस्रो स्थानमा रहेर पनि नकआउटको अन्तिम १६ मा प्रवेश गर्न सफल भएको छ । ३ खेलबाट ४ अङ्क जोडेको चेक रिपब्लिक तेस्रो हुनेमध्ये उत्कृष्ट हुँदै नकआउट चरणमा पुगेको हो । त्यसैगरी अर्को खेलमा क्रोएसियाले स्कटल्याण्डलाई हराएर आफ्नो समूहको उपविजेता बन्दै अन्तिम १६ मा पुगेको छ ।