काठमाडौं — निषेधाज्ञाका कारण झन्डै दुई महिनादेखि ठप्प राइड सेयरिङ सेवा हिजो मङ्गलबारदेखि सञ्चालनमा आएका छन् । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयहरुले निषेधाज्ञा खुकुलो पार्दै निजी सवारीमा जोर–बिजोर प्रणाली लागू गरेपछि राइड सेयरिङ सेवा पनि सञ्चालन भएका हुन् ।

उपत्यकामा लोकप्रिय राइड सेयरिङ सेवा पठाओ र टुटल दुवैले मङ्गलबारदेखि सेवा दिन थालेका छन् । सेवा दिन थाले पनि झन्डै दुई महिनापछि चल्न थालेकाले माग भने नगण्य रहेको टुटलका संस्थापक शिक्षित भट्टले बताउनुभयो । संस्थापक भट्टका अनुसार– ‘सेवा सुरु भएता पनि सामान्य अवस्थाको तुलनामा माग १० प्रतिशतभन्दा पनि कम छ,’ । ‘सबै क्षेत्र खुला नभई माग बढ्ने अवस्था छैन ।’