काठमाडौं – केहि दिनदेखि लगातार उच्च अङ्कले करेक्सन भएको सेयर बजारमा आज मङ्गलबार भने यूटर्न देखिएको छ । अघिल्लो साताको बुधबारदेखि घट्न थालेको सेयर बजार यो साताको कोरोबार हुने तेस्रो दिन भने लयमा फर्किएको हो ।

आज मङ्गलबार ७९ दशमलव ४४ अङ्कले बढेको बजार २९१३ दशमलव ८४ बिन्दुमा पुगेर रोकियो । यो २ दशमलव ८० प्रतिशतको वृद्धि हो । आज सेन्सेटिभ इडेक्समा समेत १६ दशमलव १९ अङ्कको वृद्धि भएको छ । आज बजारमा सबै समूहको परिसूचक हरियो बन्यो । त्यसमा पनि फाइनान्स, विकास बैंक र जलविद्युतका लगानीकर्ताले बढी आम्दानी गर्न सफल भएका छन् ।

साताको तेस्रो दिन आज कुल २२५ कम्पनीको कारोबार भयो । आज १ लाख १२ हजार ५० पटक कारोबार भएको छ । यो कारोबारबाट १ करोड ९७ लाख ७० हजार ६ सय ३८ कित्ता सेयर किनबेच भएको छ । आज कारोबार रकम भने केही खुम्चिएको छ ।

बजार घट्दा समेत अघिल्लो दुई दिन ११ अर्ब माथिको कारोबार भएकोमा आज मङ्गलबार भने १० अर्ब २८ करोड ६२ लाख ६९ हजार ९ सय ५७ रुपैयाँको कारोबार भएको छ । मङ्गलबार करीव तीन दर्जन कम्पनीको मूल्य सर्किट लेवलमा बढेको छ । ६ वटा कम्पनीको मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

आज जानकी फाइनान्स, बरुण हाइड्रोपावर, हाइड्रो इलेक्ट्रोसिटी एण्ड इन्भेष्टमेन्ट कम्पनी, ङादी ग्रुप पावर कम्पनी र पन्चकन्यामाई हाइड्रोको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आज पुनर्बिमा कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ ।