काठमाडौं– नेपालले कोभ्याक्समार्फत् कोरोना भाइरस विरुद्धको खोप पाउने भएको छ । अमेरिकाले नेपालसहित एसियाका विभिन्न १८ वटा मुलुकलाई कोभ्याक्सअन्तगर्त थप १ करोड ६० लाख खोप उपलब्ध गराउन लागेको हो ।

अमेरिकाले कोभ्याक्स अन्तर्गत निम्न र मध्यम आय भएका देशहरुलाई जुन महिनाको अन्त्यसम्ममा कोरोना भाइरस विरुद्धको ८ करोड मात्रा खोप वितरण गर्ने घोषणा गरेको थियो । अमेरिकाले यस अगाडि दुई करोड ५० लाख खोप वितरण गर्ने खाका सार्वजनिक गरेको थियो । अमेरिकाले हिजो सोमबार बाँकी ५ करोड ५० लाख खोप वितरणको विस्तृत खाका सार्वजनिक गर्दै एसियाली १८ देशहरुलाई कोभ्याक्समार्फत् १ करोड ६० लाख खोप वितरण गर्न लागको हो ।

यस अघि अमेरिकाले गत जुन ३ तारिखमा एसियाली देशहरुलाई ७० लाख मात्रा खोप विनियोजन गरेको थियो । पहिलो चरणमा गरिएको सो खोप विभिन्न मुलुकहरुमा पुग्ने क्रममा रहेको अमेरिकी ह्वाइट हाउसले जनाएको छ । अमेरिकाले उपलब्ध गराउने खोप पाउने एसियाली मुलुकहरुमा सार्क सदस्य राष्ट्र नेपाल, भारत, श्रीलङ्का, माल्दिभ्स, भुटान, बङ्गलादेश, पाकिस्तान, अफगानिस्तानसहित फिलिपिन्स, भियतनाम, ताइवान, इण्डोनेसिया, थाइल्याण्ड, कम्बोडिया, लाओस, मलेसिया, पपुवा न्यूगिनी, र प्यासिफिक आइल्याण्ड रहेका छन् । पहिलो चरणमा घोषणा गरिएको खोप जुन महिनाभित्र यी मुलुकहरुमा पुग्ने ह्वाइट हाउसले जनाएको छ ।

पहिलो चरणमा एसियाली मुलुकलाई एकदमै थोरै खोप वितरण गरेको अमेरिकाले यस पटक भने यस क्षेत्रलाई सबैभन्दा बढी विनियोजन गरेको छ । विभिन्न मुलुकलाई दिने भनेको ८ करोड खोपमध्ये ७५ प्रतिशत खोप कोभ्याक्समार्फत् वितरण गर्ने अमेरिकाले बाँकी २५ प्रतिशत खोपको मात्रा विभिन्न मुलुकलाई सिधै वितरण गर्नेछ ।