काठमाडौं– युरोकप फुटबल अन्तर्गत गएराति भएको खेलमा रुसलाई हराउँदै डेनमार्कले महत्वपूर्ण जित निकालेको छ । समूह चरणको अन्तिम खेलमा डेनमार्कले ४–१ गोल अन्तरले रुसलाई पाखा लगाउँदै अन्तिम १६ मा खेल्ने स्थान पक्का गरेको हो ।

सोमबार राति भएको खेलमा ३८ औं मिनेटमा मिकेल डेम्सगार्ड, ५९ औं मिनेटमा युसुफ पोउल्सन, ७९ औं मिनेटमा आन्ड्रेस क्रिष्टियन्सन र ८२ औं मिनेटमा योआकिमले गोल गर्दै डेनमार्कका लागि नकआउट चरण प्रवेशको ढोका खोले । रुसका लागि ७० औँ मिनेटमा पाएको पेनाल्टीमा अर्तेम ड्ज्युबाले एक गोल फर्काए । यसअघिका दुई खेलमा पराजित भए पनि रुसमाथि फराकिलो अन्तरको जित निकालेका कारण डेनमार्क समूहको दोस्रो स्थानमा रहेर अन्तिम १६ मा पुग्न सफल भएको हो । नकआउट चरणमा डेनमार्कले वेल्ससँग प्रतिस्पर्धा गर्ने छ ।

युरोकप अन्तर्गत फिनल्याण्डसँगको पहिलो खेलको पहिलो हाफको अन्तिमतिर क्रिष्टियन एरिक्सनलाई कार्डिक अरेस्ट भएपछि डेनमार्कको समस्यामा आएको थियो । फिनल्याण्डसँग पराजित भएको डेनमार्क दोस्रो खेलमा पनि बेल्जियमसँग पराजित भयो । डेनमार्क समूहको उपविजेता बनेपछि फिनल्याण्डलाई भने अन्तिम १६ मा प्रवेश गर्नका लागि समूह चरणका खेल सकिँदासम्म पर्खिनु पर्ने भएको छ । सोमबार राति भएको खेलमा फिनल्याण्ड विश्व नम्बर एक टिम बेल्जियमसँग २–० ले पराजित भयो । लगातार तेस्रो खेल जित्ने क्रममा बेल्जियमका लागि ८१ औं मिनेटमा रामेलु लुकाकुले गोल गरे । त्यसअघि फिनल्याण्डका ह्राडेकीले खेलको ७४ औं मिनेटमा आत्मघाती गोल गर्दा बेल्जियमले सहज जित निकाल्न पायो ।