काठमाडौं– विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस विरुद्धको खोपको विषयलाई लिएर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चिन्ता प्रकट गरेको छ । कोरोना भाइरसविरुद्धको खोप अभाव भएका कारण विश्वका अधिकांश गरिब मुलुकहरुले खोप अभियान जारी राख्न नसकेकोप्रति डब्लुएचओले चिन्ता प्रकट गरेको छ ।

विश्व स्वास्थ्य संगठनले गरिब मुलुकहरुका लागि खोपको समान पहुँच सुनिश्चित गर्न सुरु गरिएको कोभ्याक्स अभियान अन्तर्गत खोप पाइरहेका धेरै गरिब देशहरुमा अहिले कोरोना भाइरसविरुद्धको खोपको अभाव रहेको भन्दै त्यस्ता मुलुकहरुमा खोप अभियान रोक्नु पर्ने बाध्यता रहेको भनेको छ । विश्व स्वास्थ्य संगठनका विशेष सल्लाहकार डा. अयल्वार्डका अनुसार कोभ्याक्स कार्यक्रम अन्तर्गत हालसम्म विश्वका एक सय ३१ देशलाई ९ करोड खोपको मात्रा उपलब्ध गराइसकेकोे छ । अहिले पनि कोरोना भाइरस विश्वव्यापी रुपमा अझैपनि नियन्त्रणमा नआइसकेकोले यसकोे सङ्क्रमणबाट आमनागरिकलाई जोगाउनका निम्ति कुनै पनि अवस्थामा खोप पर्याप्त नरहेको डा. अयल्वार्ड बताउनु भएको छ ।

अफ्रिकी देशहरुमा कोरोना भाइरस महामारीको तेस्रो लहर देखिँदा खोपको अभाव भएको हो । हिजो सोमबार दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले धनी देशहरुलाई खोपमा गरिरहेको अवरोध अन्त्य गर्न अपिल गर्नुभएको थियो । राष्ट्रपति रामाफोसाले आफ्नो देश सङ्क्रमण नियन्त्रणको प्रयासमा गम्भीर रुपले जुधिरहेको बताउँदै खोप पाउने व्यवस्था गर्न धनी देशहरुसँग आग्रह गर्नुभएको छ । अफ्रिका महादेशमा अहिलेसम्म कोरोना भाइरसविरुद्धको खोपको मात्रै चार करोड मात्रा लगाइएको छ । जबकी यो कुल जनसङ्ख्याको दुई प्रतिशतभन्दा पनि कम हो ।

विश्वका धनी मुलुकहरुले गरिब देशहरुका लागि खोप खरिद गरेर समान रुपमा वितरण गर्ने उद्देश्यसहित गएको वर्ष कोभ्याक्स अभियान घोषणा भएको थियो । विश्व स्वास्थ्य संगठनको नेतृत्वमा अरु अन्तर्राष्ट्रिय संगठनहरुको साथ रहेको कोभ्याक्स कार्यक्रम अन्तर्गत सन् २०२१ को अन्त्यसम्ममा विश्वभर खोपको दुई अर्ब मात्रा वितरण गर्ने लक्ष्य तय गरिएको थियो । तर यो लक्ष्य पूरा हुने देखिएको छैन ।

गरिब मुलुकहरुका न्यूनतम पनि २० प्रतिशत जनताका लागि खोप उपलब्ध गराउने कोभ्याक्स अभियानको लक्ष्य हो । तर उत्पादनमा भएको ढिलाइले आपूर्तिमा खोप आपूर्तिमा गम्भीर असर परेको छ । नेपालसहित विश्वका धेरै देशले कोभ्याक्स अन्तर्गतको कोरोना भाइरसको थप खोप पाउन सकेका छैनन् ।

यसैबीच सोमबार अमेरिकी राष्ट्रपति जो बाइडेनले पाँच करोड ५० लाख मात्रा खोप वितरणको योजना सार्वजनिक गरेका छन् । त्यसमध्ये चार करोड १० लाख मात्रा कोभ्याक्स अन्तर्गत र बाँकी एक रोड ४० लाख मात्रा प्राथमिकताका आधारमा विभिन्न देशलाई प्रदान गरिने अमेरिकी राष्ट्रपति बाइडेनले बताउनु भएको छ । बाइडेनले घोषणा गरेको खोपको मात्रा कोभ्याक्सका लागि घोषणा गरेको ५० करोड खोप भन्दा अलग हो ।

विश्व स्वास्थ्य संगठनले भने गरिब मुलुकहरुका लागि खोप सहयोगको मात्रा बढाउन धनी देशसँग निरन्तर आग्रह गर्दै आएको छ । तर विश्व स्वास्थ्य संगठनको यो आग्रहलाई धनी देशहरुले खासै वास्ता गरेको व्यवहारमा देखिएको छैन । धनी देशहरुमा भने कोरोना भाइरस विरुद्धको खोप अभियान तीव्र गतिमा लगाइंदै आएका छन् ।