जनकपुरधाम – प्रदेश २ सरकारले चालु वर्षको ११ महिनामा ३१.४७ प्रतिशत बजेट मात्र खर्च गर्न सकेको छ । साउनदेखि जेठसम्म चालुतर्फ ३४.९ प्रतिशत र पुँजीगततर्फ २९.२३ प्रतिशत बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालय जनकपुरधामका लेखा अधिकृत मनोजकुमार झाले जानकारी दिनुभयो ।

प्रदेश सरकारले ०७७।७८ को ११ महिनामा १० अर्ब ६५ करोड ५७ लाख रुपैयाँ खर्च गरेको छ । चालुतर्फ १३ अर्ब ३३ करोड ६९ लाख १६ हजार रुपैयाँ विनियोजन गरेकामा ११ महिनाको अवधिमा ४ अर्ब ९६ करोड ९२ लाख अर्थात् ३४.९ प्रतिशत खर्च गर्न सकेको छ । त्यस्तै, पुँजीगततर्फ १९ अर्ब १९ करोड ८ लाख १८ हजार रुपैयाँ विनियोजन गरिएकोमा प्रदेश सरकारले ५ अर्ब ६८ करोड ६५ लाख अर्थात् २९.२३ प्रतिशत मात्र खर्च गर्न सकेको छ ।

चालु वर्षको ११ महिनामा सबैभन्दा बढी भौतिक पूर्वाधार विकास मन्त्रालयले खर्च गरेको छ । यो मन्त्रालयले ४१.१४ प्रतिशत बजेट खर्च गरेको छ। चालुतर्फ ३५ करोड ६० लाख ८१ हजार र पुँजीगततर्फ ३ अर्ब ४७ करोड ३ लाख ४५ हजार रुपैयाँ खर्च गरेको प्रदेश लेखा कार्यालयले जनाएको छ । त्यस्तै, आर्थिक मामिला तथा योजना मन्त्रालयले आफ्नो कुल बजेटको ३६.३५ प्रतिशत बजेट खर्च गर्न सकेको छ । यो मन्त्रालयले चालुतर्फ ७ करोड ६ लाख ८६ हजार र पुँजीगततर्फ १ करोड ८० लाख १० हजार बजेट खर्च गर्न सकेको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ११ महिनाको अवधिमा ३२.८ प्रतिशत बजेट खर्च गरेको छ । चालुतर्फ ६६ करोड ४३ लाख ४८ हजार र पुँजीगततर्फ ४० करोड ५४ लाख ६० हजार गरी १ अर्ब ६ करोड ९८ लाख ९ हजार रुपैयाँ खर्च गरेको छ ।

सामाजिक विकास मन्त्रालयले साउनदेखि जेठसम्म चालुतर्फ १ अर्ब ५२ करोड २१ लाख र पुँजीगततर्फ ५८ करोड ४ लाख १ हजार रुपैयाँ गरी २ अर्ब ८ करोड २५ लाख रुपैयाँ खर्च गरेको प्रदेश लेखा कार्यालयले जनाएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चालु वर्षको ११ महिनाको अवधिमा २४.२४ प्रतिशत बजेट खर्च गरेको छ । चालुतर्फ २० करोड र पुँजीगततर्फ ९२ करोड ७८ लाख ७८ हजार रुपैयाँ खर्च गरेको छ । यो मन्त्रालयले कुल १ अर्ब १२ करोड २४ लाख रुपैयाँ खर्च गरेको प्रदेश लेखा कार्यालयका लेखा अधिकृत मनोजकुमार झाले जानकारी दिनुभयो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले चालुतर्फ १० करोड ७ लाख ५३ हजार र पुँजीगततर्फ १७ करोड १३ लाख ४१ हजार रुपैयाँ खर्च गरेको छ । सबैभन्दा कम भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले १३.८ प्रतिशत बजेट खर्च गरेको छ । चालु वर्षको ११ महिनामा यो मन्त्रालयले चालुतर्फ ३४ करोड १० लाख ६१ हजार र पँुजीगततर्फ ११ करोड १४ लाख ८४ हजार रुपैयाँ खर्च गरेको छ ।