काठमाडौं – युरोकप फुटबल अन्तर्गत आज दुई खेलहरु हुँदैछ । नेपाली समयअनुसार आज राति पौने १० बजे समूह ‘ए’ को दुई खेल हुन लागेको हो । आज हुने खेलमा इटालीले वेल्सको सामना गर्नेछ भने सोही समयमा स्वीजरल्यान्ड र टर्कीबीच प्रतिस्पर्धा हुनेछ ।

इटलीको रोममा हुने उक्त खेलमा युरोकप दावेदारी इटालीले यस अघिका दुवै खेल जितिसकेको छ भने आज पनि उसले सहज जित निकाल्ने रणनीतिमा हुनेछ । इटालीले यसअघिका दुई खेलमा जित निकाल्दै अन्तिम १६ मा स्थान बनाइ सकेको हुँदा आजको खेलमा जित निकाल्दै समूह विजेता बन्न आतुर छ । दुई खेलमा ६ अङ्क जोडेको इटाली तालिकाको शीर्ष स्थानमा छ । वेल्स पनि इटालीलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ ।

यसै समूहको अर्को खेलमा स्वीजरल्यान्ड र टर्कीबीच खेल हुनेछ । बाकुमा हुने खेल राति ९ः ४५ बजे सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै आफूलाई तालिकामा बलियो बनाउने योजनामा छ । स्वीजरल्यान्ड दुई खेल खेल्दा एकमा हार र अर्कोमा बराबरी खेलेर १ अङ्क जोडेर छ । उसले आज जित निकाल्न नसके समुह चरणबाट बाहिनु पर्ने अवस्था आउन सक्नेछ । टर्की भने पहिलो जितको खोजीमा हुनेछ ।