काठमाडौं– काठमाडौं उपत्यकामा निषेधाज्ञा केही खुकुलो हुने भएको छ । उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञालाई केही खुकुलो बनाउने निर्णय गरेको हो । उक्त बैठकले उपत्यकामा जोर बिजोर प्रणाली लागू गरेर निजी सवारी साधन चल्न दिनुका साथै ट्याक्सी तीन जनासम्म चढ्न पाउने गरी सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

पर्सि मङगलबार अर्थात् असार ८ गतेदेखि निजी सवारी साधन जोरबिजोर प्रणालीमा सञ्चालन हुने छन् । त्यसैगरी खाद्यान्न पसलको हकमा अघिल्लो निर्णय नै कायम रहेको र अन्य पसलको हकमा बारअनुसार बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म खोल्न दिने निर्णय गरिएको छ । प्रजिअको आज बसेको संयुक्त बैठकले असार ८ गतेदेखि सबै सरकारी कार्यालयहरु खोल्ने निर्णय पनि गरेको छ । पछिल्लो पटक थपिएको निषेधाज्ञाको अवधि भोलि सोमबारबाट सकिंदै छ । कोरोना भाइरस महामारीको नियन्त्रण तथा रोकथामका लागि उपत्यकामा बैशाख १६ गतेदेखि लगातार निषेधाज्ञा भइरहेको छ । सरकारले पछिल्लो एक सातादेखि काठमाडौं उपत्यकालगायत बाहिरी केही जिल्लाहरुमा निषेधाज्ञा केही खुकुलो बनाउँदै लगिएको छ ।