लुम्बिनी – लुम्बिनी प्रदेश सभाको आज आइतबार बसेको बैठक विपक्षी गठबन्धनले बहिस्कार गरेको छ । अल्पमतमा परेको सरकारले ल्याएको बजेट पास हुन नदिने भन्दै विपक्षी गठबन्धनमा आवद्ध दलहरुले बैठक बहिस्कार गरेका हुन् । असार १ गते लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८÷०७९ को बजेट प्रस्तुत गरेको थियो ।

आज बैठक सुरु हुनासाथ विपक्षी दल नेपाली काङ्ग्रेसका वीरेन्द्र कनौडियाले सरकार अल्पमतमा परेको भन्दै त्यस्तो सरकारले ल्याएको बजेट पास हुन नदिने बताएका हुन् । बैठक बहिस्कार भएपछि काङ्ग्रेस, माओवादी र जसपा सांसदहरु बैठकबाट निस्किएका थिए । आज आइतबार बसेको बैठकमा आय व्ययको छलफल भएपछि आजै विनियोजन विधेयक पेश हुने कार्यसूची रहेको थियो ।