कोरोना भाइरस सङक्रमणका कारण ब्राजिलमा पाँच लाखभन्दा धेरै सङ्ख्यामा नागरिकको मृत्यु भएको छ । कोरोना भाइरसकै कारण मृत्यु हुनेको यो सङख्या विश्वकै दोस्रो धेरै सङ्ख्या हो । आगामी दिनमा अझ यो सङ्ख्या झन विकराल हुन सक्ने स्वास्थ्यविज्ञहरुले बताएका छनन् ।

जाडो यामको सुरुवात र अति सुस्त गतिमा जारी खोप अभियानका कारण आगामी दिनहरुमा स्थिति झन् भयावह बन्दै जाने उनीहरुको तर्क रहेको छ ।
कोरोना भाइरस तीव्र रुपमा फैलिरहँदा ब्राजिलीयन राष्ट्रपति जेर बोल्सेनेरोले भने सामाजिक दूरीलगायत सुरक्षाका उपाय अपनाउन अस्वीकार गरिरहेका स्वास्थ्यविज्ञले आरोप लगाएका छन् । स्वास्थ्य संस्था फिओक्रुजका अनुसार ब्राजिलमा स्थिति अत्यन्तै सङ्कटपूर्ण बनेको छ । हाल त्यहाँ १५ प्रतिशत वयस्कहरुले मात्र खोपको पूरा डोज प्राप्त गरेका छन् । त्यस्तै, ब्राजिलको संसद्ले महामारी नियन्त्रणमा सरकारको भूमिकाबारे अनुसन्धान गरिरहेको छ ।

राष्ट्रपति बोल्सेनेरो भाइरसप्रति उनले जनाएको प्रतिक्रियाबारे लगातार आलोचित भइरहेका छन् । राष्ट्रपतिले कोरोना भाइरस विरुद्धको खोपदेखि लकडाउन, मास्क लगाउने आवश्यकतालगायत सबै सुरक्षाका उपायहरुप्रति शङ्का व्यक्त गर्दै आएका छन् । विपक्षीहरुले उनीमाथि राजनीतिक कारणवश खोप खरिद गर्नमा ढिलाइ गरेको र महामारीको चिन्ताजनक अवस्थालाई गम्भीरतापूर्वक नलिएको उनीहरुको आरोप छ । ब्राजिलमा अहिलेको प्रकोप अमेजोन क्षेत्रमा फेला परेको नयाँ ‘गामा भेरियेन्ट’का कारण पनि समस्या बढेकोे बताइएको छ । गत हप्ता मात्र त्यहाँ दैनिक ७० हजारभन्दा धेरै नयाँ सङ्क्रमितहरु थपिएका थिए ।

सबै प्रमुख राज्यहरुमा ८० प्रतिशत आईसीयू प्रयोगमा रहेको बताइएको छ । यसबारे ब्राजिलियन स्वास्थ्यमन्त्री मार्सेलोले ट्विट गर्दै कोरोना भाइरस महामारीका कारण आफ्ना बुवा, आमा, साथीभाई र आफन्तजनहरु गुमाएका सबै परिवारप्रति समवेदना व्यक्त गर्दै ब्राजिलमा मृतकको सङ्ख्या पाँच लाख पार गरेको बताएका छन् । कोरोना भाइरस विरुद्धको खोप अभियानलाई तीव्रता दिन माग गर्दै बोल्सेनेरो सरकारविरुद्ध हजारौं नागरिकहरुले प्रदर्शन गरेका छन् ।