काठमाडौं – नवनियुक्त युवा तथा खेलकुद मन्त्री एकवाल मियाँले खेल क्षेत्रको विकासको लागि खेल क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुसँग सुझाव लिनुभएको छ । शनिबार ओलम्पिक डेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री मियाँले आफूले युवा तथा खेलकुद मन्त्रालय अन्य मन्त्रालयभन्दा राम्रो बनाउन चाहेको भन्दै सरोकारवालासँग सल्लाह, सुझाव माग गर्नुभयो ।

उहाँले आफ्नो ध्यान खेलकुद क्षेत्रमा राम्रो योजना र रणनीति बनाउनको लागि भएको भन्दै त्यसका निम्ति खेल क्षेत्रका व्यक्तिहरुको सुझाव र सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले राष्ट्रिय खेलकुद परिषद्को नियमावली छिट्टै बनाउनको लागि टिम बनाउने पनि बताउनुभएको छ ।

मन्त्री एकवाल मियाँका अनुसार —‘मन्त्रालयलाई राम्रो कसरी बनाउन सकिन्छ त्यसमा मेरो बढी ध्यानाकर्षण भएको छ । खेल क्षेत्रको विकासका लागि राय, सल्लाह, सुझाव दिनुस् । राष्ट्रिय खेलकुद परिषद्को ऐन आइसकेको छ । अब नियमावली पनि बनाउन म चाँडै टिम तयार पार्दैछु । कानुन विज्ञ, खेलका विज्ञहरुलाई ड्राफ्ट उपलब्ध गराउँछु । त्यसमा के थपेर जाँदा हुन्छ छलफल गरौँ । अझ राम्रो कसरी गर्न सकिन्छ, त्यसमा राय–सुझाव पाऊँ ।’

यस्तै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलकुद क्षेत्रले विश्वव्यापी रुपमा भातृत्व र मित्रता बढाएको बताउनुभयो । उहाँले खेलले शान्ति र विकासको कुरा अगाडि बढाइरहेको पनि बताउनुभयो । ओलम्पियनहरु धेरै मानिसहरुको प्रेरणाको स्रोत भएको पनि उहाँको भनाइ छ ।