काठमाडौं – अविरल वर्षाका कारण क्षतिग्रस्त भएको हेलम्बु र मेलम्ची क्षेत्रमा त्यसरी बाढीपहिरोको जानुको कारण के हो भनेर बुझ्न आज विज्ञ टोली जान लागेकोे छ । आज जाने टोलीमा बाढीपहिरो विज्ञ, जल तथा मौसम विभाग, खाने तथा भूगर्भ विभाग र सिँचाइ विभागको संयुक्त टोली त्यसतर्फ जान लागेको हो ।

उक्त क्षेत्रमा बाढी पहिरो आउनेगरी वर्षा नभए पनि हेलम्बु र मेलम्चीमा आएको बाढी अनपेक्षित रुपमा कसरी आयो भन्ने सम्बन्धमा स्थलगत अध्ययन रुपमा अनुसन्धान गर्न विज्ञ टोली जान थालेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । अध्ययन गर्न जाने टोलीले हेलम्बु र मेलम्चीको माथिल्लो क्षेत्रको स्थलगत अनुसन्धान गर्ने र त्यसपछि के कारणले बाढी आयो भन्ने थाहा हुने प्राधिकरणले जनाएको छ । मेलम्चीको खोलाभन्दा माथिल्लो क्षेत्रमा ठूलो पहिरो गै खोला थुनिएको पछि पानीको सतह बढेर थुनिएको ठाउँ एक्कासी फुट्न गै भिषण बाढी आएको आशङ्का गरिएको छ ।