सिन्धुपाल्चोक — अविरल वर्षाका कारण सिन्धुपाल्चोकबाट चीन जोड्ने तातोपानी नाका क्षेत्रको २६ किलोमिटर लार्चा, कोदारी खण्डसहित लिपिङ पुल कटान गरेको छ । मालबाहक सवारीसाधन मात्र सञ्चालनमा आइरहेको तातोपानी नाका आज शनिबार बिहानबाट सडक र पुलकै जोखिमका कारण ठप्प भएको हो ।

भोटेकोसी गाँउपालिकाका अध्यक्ष राजकुमार पौडेलका अनुसार बाह्रबिसे–तातोपानी सडकखण्डको लार्चा, भ्यानपार्किङ पुल र बेलिब्रिजमा बाढीले अहिले पनि हानिरहेको हुँदा क्रमशः बग्ने जोखिममा छ । ’कन्टेनर जान नसक्ने भएपछि नाका त अवरुद्ध भयो नै, यहाँ सीमा क्षेत्रको अवस्था बर्बाद भयो, । चरिकोट सडक डिभिजन कार्यालय र सडकमा कार्यरत सीआरसीसी कम्पनीलाई तत्काल मर्मतसम्भार गर्न र थप क्षतिबाट रोक्न अनुरोध गरिएको उहाँले बताउनुभयो ।

तातोपानी क्षेत्रको कोदारी सडक र भूभाग पूरै भासिएकाले ६० परिवारलाई स्थानीय विद्यालयमा सारिएको छ । ’बर्खाले कहाँ बितण्डा मच्चाउने हो थाहा छैन, जुनसुकै बेला सीमा क्षेत्रको अरनिको राजमार्गसँग सम्पर्क टुट्न सक्छ,’ ।