हेलम्बु — अविरल वर्षासँगै आएको मेलम्ची नदिको बाढीले हेलम्बु गाउँपालिकाका चार गाउँको अस्तित्व नै मेटाएको छ । चिउरेखर्क, चालिसे, तल्लो तिम्बु बजार र गणेश बगरको बस्ती मेलम्चीले बगाएको हो । बाढीका कारण गाउँ भएको ठाउँ नै बगरमा परिणत भएको छ । बाढीले उजाड पारेको सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको मुख्य बजार क्षेत्र, जहाँ तटीय क्षेत्रका घरहरू हिलोले आधा–आधासम्म पुरिएका छन् । हेलम्बुलाई मेलम्ची बजारसँग जोड्ने करिब ८ किलोमिटर सडक बाढीले तहसनहस पारेको छ ।

सिन्धुपाल्चोक सरदमुकाम चौताराबाट करिब ४० किलोमिटर पश्चिमको हेलम्बु बाढीपछि सडक र सञ्चार सम्बन्धविच्छेदको अवस्थामा छ । बाढीले ठाउँठाउँमा सडक, पुल, बिजुली र फोनका पोल बगाएको छ । पर्यटकीय गाउँ हेलम्बु यतिबेला उजाड बगर बनेको छ । बाढीपीडितका लागि टेन्ट र खाद्यान्नको जोहो गर्दै रहेका हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाका अनुसार, ‘यहाँ बिजुली, फोन छैन । मोबाइलको नेटवर्क पनि छैन ।

सडक पनि बाढीले लगेकाले साह्रै सकस भएको छ ।’ बाढीले यहाँका अनुमानित सय घर बगाएको छ । ६ सयभन्दा बढी परिवार घरबारविहीन भएका छन् । ‘यस्तो विपद्का बेला यहाँ कोही आउँदैनन्,’ ।‘यताउति विपद्को बैठक पनि मेलम्चीमै बस्छन्, हामीलाई कसले हेर्ने ?’मेलम्चीको मुहानस्थलबाट एक्कासि उर्लिएर आएको बाढीले हेलम्बुका पुराना चार गाउँका सबै संरचना बगाएको हो । झन्डै १८ हजार जनसंख्या भएको हेलम्बुको तालामाराङ, चनौटे, किउल, तिम्बुका बजारभर बाढीले बालुवा ल्याएर थुपारेको छ । ‘विस्थापितका लागि बास र गाँसको व्यवस्थापन गरिरहेका छौं । साँखु, मेलचौर हुँदै कुटुम्साङ हेलम्बु जोड्ने वैकल्पिक बाटोका लागि प्रयासरत छौं,’ अध्यक्ष शेर्पाले बताउनुभयो ।