पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभाबाट विश्वासको मत हासिल गर्नुभएको छ । शुक्रबार प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पोखरेलले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३१ मत प्राप्त भयो भने प्रस्तावको विपक्षमा २७ मत खसेको छ । प्रदेशसभा बैठकमा ५८ सांसद उपस्थित रहनुभएको थियो ।

प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले विश्वासको मतसम्बन्धी प्रस्तावमाथि भएको मतविभाजनको परिणाम घोषणा गर्दै मुख्यमन्त्री पोखरेलद्वारा पेस गरिएको प्रस्ताव प्रदेशसभाको बहुमतबाट पारित भएको घोषणा गर्नुभयो ।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार मुख्यमन्त्री पोखरेलले प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुभएको हो । उहाँ गत जेठ २९ गते संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।