सिन्धुली – सिन्धुलीबाट धरान–चतरा–सिन्धुली–हेटौडा सडक अन्तर्गत पर्ने कमला नदीमा विगत एक दशकदेखि बन्न नसकेको पुल यतिबेला सम्पन्न भएको छ । यहाँ पुल नहुँदा कमला नदीले हरेक वर्ष वर्षादको समयमा मानवीय क्षति पुर्याउँदै आएको थियो । वर्षाद्को समयमा कमला नदीमा पानीको बहाव बढेसँगै मानिसहरुले ज्यान गुमाउने गरेको र अब यो पुल निर्माण पश्चात् यस्तो दुर्घटना नहुने स्थानीयहरुको भनाइ छ । दुधौलीस्थित कमला नदीमा ढिलैभए पनि निर्माण भएको पुलले स्थानीयहरुमा खुसी छाएको छ ।

उक्त पुल निर्माणको ठेक्का लिएको पप्पु कन्ट्रकसनलाई हटाएर जेभिमा सँगै काम गरेको लुम्बिनि कन्ट्रक्सनलाई जिम्मा दिएपछि पुलनिर्माणको कार्यले तीव्रता पाएको हो । आयोजनाका ईञ्जिनियर शङ्कर पौडेलका अनुसार दुधौलीस्थित कमला नदीमा पुल सम्पन्न भएकोले चतरा–सिन्धुली–हेटौंडा बैकल्पिक राजमार्गको रुपमा सहज बनेको छ । ईञ्जिनियर पौडेलले बताएअनुसार अब पूलको दायाँबायाँ गरी पाँच सय मिटर सडक मात्रै पिच (कालोपत्रे) गर्ने काम भैरहेको र पुल निर्माण कार्य सम्पन्न भैसकेको हुँदा असार २ गते बुधबारदेखि सबारी साधान आवतजावत गर्न खुल्ला गरिएको छ ।

उक्त सडक आयोजनाका अनुसार पप्पु कन्ट्रकसनले २०६८ सालमा सम्झौता गरी दुधौलीस्थित कमला नदीमा पक्कि पुल निर्माण सुरु भएको थियो । तर आधा पनि काम नगरी पप्पुले अलपत्र अवस्थामा छाडेपछि जेभी (साझेदार)मा सँगै काम गरेको लुम्बिनी कन्ट्रकसनले गत बर्ष माघ महिनामा जिम्मा लिएर बाँकी काम सुरु गरेको थियो । करिब रु. ३१ करोडको लागतमा निर्माण सुरु भएका उक्त पुलको लम्बाइ ५४६ मिटर रहेको छ भने पुलको १४ वटा स्पानको सबै काम सकिएको छ । लुम्बिनी कन्ट्रकसनले एक वर्षभित्र उक्त पुल निर्माण सम्पन्न गर्ने जिम्मा लिएर बाँकी काम सुरु गरेको थियो ।

उक्त पुल निर्माणको ठेक्का पप्पु–लुिम्बनी जेभीले पाए पनि उक्त कम्पनीको ठेकेदारको आन्तरिक सहमति अनुसार पुल निर्माणको काम पप्पुले मात्रै निर्माण सुरु गरेको थियो । वि.सं. २०७३ साल असार २८ गतेसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेर पप्पु–लुम्बिनी जेभीले २०६८ असार ३१ गते सम्झौता गरी पुल निर्माण गर्ने काम सुरु गरेको पप्पुले तोकिएको समयमा पुल निर्माणको काम अलपत्र पारेर छोडेपछि २०७४ साउन १४ गतेसम्म म्याद थपिएको थियो ।

लुम्बिनी कन्ट्रक्सनका ठेकेदार शङ्कर राउतले पनि २०७७ पुस महिनासम्ममा पुल निर्माण कार्य सकिने योजना रहेपनि गतवर्ष देशमा कोरोना भाइरस सङ्क्रमणका कारण भएको निषेधाज्ञाले गर्दा पुल निर्माण ढिलाइ हुन गएको बताउनु भएको छ । उक्त पुल सञ्चालनमा आएसँगै नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना धरान–चतरा–सिन्धुली–हेटौडा सडक अन्तर्गत कटारीदेखि सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीसम्म बाह्रै महिना यातायात सञ्चालन गर्न सुविधा पुग्ने स्थानीय बासिन्दा बताउँछन् ।