काठमाडौं – पेट्रोल पम्प व्यवसायीहरूले कोरोनाविरूद्ध खोप लगाउन नपाएको गुनासो गरेका छन् । पेट्रोल पम्पमा काम गर्ने मजदुरहरू खोप लगाउन केन्द्रहरूमा गए पनि लगाउन नपाएको उनीहरूको भनाइ छ । खोपको व्यवस्था नभए आइतबारदेखि आन्दोलनमा उत्रने बागमती पेट्रोलियम डिलर्स एशोसिएसनले विज्ञप्ति नै निकालेर चेतावनी दिएको छ ।

खोप लगाउन नपाएको सन्दर्भमा शनिबार बैठक बसेर आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी विज्ञप्तिमा छ । खोपको व्यवस्था हुन नसके पम्प व्यवसायीहरूले कारोबार चलाउन नसक्ने बताइरहेका छन् । कोरोना महामारीमा जोखिम मोलेर काम गरेका मजदुरलाई खोप लगाउने व्यवस्था सरकारले मिलाउनुपर्ने उनीहरूको भनाइ छ ।

गत बुधबारदेखि उनीहरूले पेट्रोलियम पदार्थ खरिद नगर्ने चेतावनी दिएपछि खोप व्यवस्थापन गर्ने कुराकानी भएको थियो । नेपाल आयल निगमले प्रत्येक पेट्रोल पम्पमा तीन जनालाई खोप लगाउने गरी व्यवस्थापन मिलाउने भने पनि कार्यान्वयन हुन नसकेको व्यवसायीहरूले बताएका छन् ।