जकार्ता – इण्डोनेशियामा कोरोना भाइरस विरुद्धको खोप लगाउने नागरिकका लागि स्थानीय निकायले जिउँदो कुखुरा दिने भएका छ । पश्चिमी जाभास्थित किआन्जर सहरमा ल्याइएको यो कार्यक्रम ४५ वर्षभन्दा माथि उमेरका नागरिकलाई खोप लगाउन प्रोत्साहन गर्नका लागि सुरु गरिएको हो ।

सो उमेर समूहका मानिस खोप लगाउन हिचकिचाइरहेकाले यस्तो गर्नु परेको सहायक पुलिस कमिसनर गलिह अप्रिआ बताएका हुन् । उनले भने, ‘सुरुवातमा खोप आउँदा मानिसहरुमा एकदमै गलत जानकारी र भ्रामक सूचनाहरु फैलिएको थियो । विशेषगरी अनलाइन र सामाजिक संजालमा त्यस्ता गलत सूचनाको प्रवाह व्याप्त भइसकेको थियो । यसमा ४५ वर्ष माथिकाहरु कोभिड–१९ विरुद्धको खोपले कोरोना भाइरसबाट जोगाउनुको सट्टा उल्टै उनीहरुलाई गम्भीर बिरामी पारेर मृत्युसमेत हुन सक्छ भन्ने सोचिरहेका थिए ।’ यही कारण त्यहाँको प्रहरीले निःशुल्क कुखुरा वितरणको अभियान सुरु गरेको हो ।

यसरी कार्यक्रमका सुरु हुनु अगाडि दुई सयमध्ये केबल २० जना वासिन्दा मात्र खोप लगाउन अघि सरेका थिए । तर अहिले भने हरेक दिन २५० जनासम्म सुइ लगाउन आउने गरेको उनले बताए । त्यसरी कुखुरा दिनुले जेष्ठ नागरिकहरुप्रति सदभाव र सम्मान व्यक्त गरिएको आभास गराउने गलिह बताउँछन् ।

हालसम्म निकायले यस कार्यक्रम मार्फत ५०० वटा कुखुरा वितरण गरिसकेको बताएको छ । उनीहरुले यस अभियानलाई थप विस्तार गर्ने योजना बनाइरहेको पनि बताए । गलिह भन्छन् ‘यसमा हामीले खोपको फाइदा र सुरक्षा सम्बन्धी सबै मानिसहरुलाई विस्तृतमा व्यख्या गरेर बुझाउनुपर्ने हुन्छ अनि मात्र उनीहरु खोपसँग डराउन छाड्नेछन् । यसका लागि हामी सबैको ढोका–ढोकामा गएर खोप लगाउन प्रोत्साहन गरिरहेका छौं ।’

त्यहीँ बस्ने एक जेष्ठ महिलाले सीएनएनसँग बोल्दै आफूलाई खोप लगाउनुपर्छ या पर्दैन भन्ने पहिले थाहा नभएको तर अहिले यस वापद् कुखुरा पाउँदा अत्यन्तै खुसी लागेको बताइन् । यो कार्यक्रम पश्चात् नागरिक खुसी भएको पै्रतिक्रिया जनाउँदा आफूहरुमा पनि अधिक हौसला मिलेको गिलह बताउँछन् । उनले भने, ‘जेष्ठ नागरिकहरु कुखुरा पाउँदा खुसी भएको देख्दा हामीलाई पनि खुसी लागेको छ र अर्कोतर्फ हामीले यसमार्फत उहाँहरुलाई भाइरसबाट पनि सुरक्षित राखिरहेका छौं ।’

यसमा आर्मी र स्वास्थ्यर्मीहरु मिलेर पुलिसलाई खोप वितरण गर्न र तत्काल सुइ लगाउने प्रबन्ध मिलाउन सहायता गरिरहेको पनि उनले जानकारी दिए । इन्डोनोशियामा कोरोनाबाट झन्डै २० लाख सङ्क्रमित भएका छन् भने ५३ हजारको यसबाट मृत्यु भएको तथ्यांक छ । पछिल्लो समय घना वस्तीयुक्त दुई प्रमुख टापुमा संक्रमित बढ्ने क्रम रहेको पाइएको छ । यता, खोप अभियान भने सुस्त गतिमा अघि बढिरहेको छ । यसमा लक्षित गरिएको ५० वर्ष माथिका २० प्रतिशत भन्दा थोरै नागरिकमा मात्र पहिलो डोज खोप लगाइसकिएको छ । सीएनएन