मेलम्ची – मेलम्चीको इन्द्रेश्वरी माविमा बसिरहेका बाढी प्रभावितहरूका लागि खाद्यान्न लगायतका राहत सामग्री वितरणका क्रममा विवाद उत्पन्न भएपछि प्रहरीले हस्तक्षेप गरेको छ । अनेरास्ववियुमा आबद्ध सोही विद्यालयका पूर्व विद्यार्थीहरुले राहत वितरण गर्दा संगठनको ब्यानर टाँसेपछि विवाद उत्पन्न भएको मेलम्ची प्रहरी कार्यालयले जानकारी दिएको छ ।

सिन्धुपाल्चोकको मेलम्चीमा बाढी प्रभावितका लागि राहत वितरणका क्रममा विवाद भएको छ । एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले आफ्नो संगठनको ब्यानर राखेर राहत वितरण थालेपछि झडप भएको हो । पीडितहरुमाथि राजनीति गर्न खोजेको भन्दै स्थानीयले ब्यानर हटाउन खोजेपछि झडप भएको लोप्सन लामाले बताएका छन् । स्थानीयले अनेरास्ववियुको ब्यानर समेत च्यातिदिएका छन् ।

अनेरास्ववियुको ब्यानर देखेपछि स्थानीयले यो राजनीति गर्ने ठाउँ हैन भन्दै विरोध गरेपछि अनेरास्ववियूका कार्यकर्ता र स्थानीयबीच धकेला धकेल भएको हो । मेलम्ची नदीमा आएको बाढीले मेलम्ची बजारमा दर्जन बढी घर डुबानमा परेपछि प्रभावितहरु इन्द्रेश्वरी माविमा आश्रय लिएर बसेका छन् ।