काठमाडौं – साताको अन्तिम दिन आज बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले घटेको छ । बुधबार ५२ अङ्कले घटेको नेप्से परिसूचक बिहीबार भने १ दशमलव ३ अङ्कले घटेर २ हजार ९ सय ६८ दशमल ४२ अङ्कमा झरेको छ ।

नेपाल धितोपत्र बोर्डले जोखिमयुक्त रहेको भन्दै मङ्गलबार ५१ कम्पनीको नाम नै तोकेर सूची सार्वजनिक गरेको थियो । बोर्डको यो कदम पछि बुधबार सेयर बजारमा प्रभाव देखिएको थियो । तर बिहीबार भने ठूलो प्रभाव देखिएन । नेप्सेमा कारोबार हुने समूहगत सवइन्डेक्सहरु मध्ये ६ वटा बढेका छन् ।

नेप्से परिसूचकमा खासै प्रभाव नदेखिए पनि कारोबार रकम भने सुस्ताएको छ । बिहीबार १० अर्ब ९० करोड ४९ लाख ५८ हजार ९३५ रुपैयाँको सेयर कारोबार भएको छ ।