युरोकप फुटबलको नकआउट चरणमा इटाली पुग्न सफल भएको छ । समूह ‘ए’ अन्तर्गत राति भएको खेलमा इटालीले स्वीट्जरल्याण्डमाथि ३–० को सहजा जित निकाल्दै नकआउट चरणमा पुग्ने पहिलो टिम बनेको हो । लगातार दुई खेलमा जित निकालेको इटालीको ६ अङ्क भएको छ र उसले नकआउट चरणका लागि स्थान पक्का गरेको छ ।

रातिभएको खेलमा इटालीको जितका लागि मानुएल लोकातेलीले २६ र ५२ औं मिनेटमा र इम्मोबिलेले ८९ औं मिनेटमा गोल गर्दै इटालीलाई नकआउट चरणमा पुर्याएका हुन् । इटालीको सामु स्वीट्जरल्याण्ड निरिह देखियो । उसले गोल गर्ने अवसर सिर्जना गर्न सकेन ।

समूह ‘ए’ अन्तर्गत कै अर्को खेलमा वेल्सले महत्वपूर्ण जित दर्ता गरेको छ । उसले टर्कीलाई २–० ले पछि पार्दै जित दर्ता गरेको हो । वेल्सको लागि ४२ औं मिनेटमा ग्यारेथ बेलको सहयोगमा रामसीले गोल गरे भने रोबर्ट्सले इन्जुरी समयको पाँचौं अर्थात् ९५ औं मिनेटमा गोल गर्दै गोललाई दोब्बर पारेका थिए । एक खेलमा बराबरी र एकमा जित दर्ता गरेको वेल्स चार अङ्क सहित दोस्रो स्थानमा छ । टर्की अङ्कबिहीन छ भने स्वीट्जरल्याण्डको एक अङ्कमात्रै छ ।