काठमाडौं–अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच जेनेभामा भेटवाताए भएको छ । दुवै राष्ट्रपतिले आफूहरुबीच भएको भेटबाट खुसी व्यक्त गरेपनि दुई देशबिच जारी मतभेद र तनाव अन्त्यका लागि भने निकै कम मात्रै प्रगति भएको धारणा सार्वजनिक गरेका छन् । तीन वर्ष पछि यी दुई देशका प्रमुखबीच भएको पहिलो भेटवार्ता हो । सन् २०१८ मा तात्कालिन अमेरिकी राष्ट्रपति डोनाल ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको थियो ।

दुवै देशबीचको मतभेदहरुका विषयमा राष्ट्रपतिद्वयबीच वार्ता भए पनि त्यसको समाधानको सन्दर्भका ठोस निष्कर्षमा नपुगेको अमेरिकी राष्ट्रपति बाइडेनले बताएको समाचारमा जनाइएकोे छ । मतभेदहरु अतिशयोक्तिपूर्ण तवरले नराखिएको पनि अमेरिकी राष्ट्रपति बाइडेनले बताएको उल्लेख छ । रुस अर्को शितयुद्धको पक्षमा नरहेको पनि बाइडेनले खुलासा गरेको समाचारमा जनाइएको छ ।


रुसी राष्ट्रपति पुटिनले अमेरिकी राष्ट्रपति बाइडेन अनुभवी राजनीतिज्ञ रहेको र आफूहरुबिच वार्ताको क्रममा ‘भाषिक समानता’ रहेको बताएका छन् । बाइडेन र पुटिनबिच तीन घण्टा भेटवार्ता भएको थियो । रुसी राष्ट्रपतिसँग भएको भेटवार्तामा धेरै कुराकानी गरेर थप समय खर्चिनुको आवश्यक नरहेको र रुससँगको सम्बन्ध सुधार हुने कुनै ठोस सम्भावनाहरु पनि नपाइएको राष्ट्रपति बाइडेनको भनाइ रहेको छ ।

अमेरिकी राष्ट्रपति बाइडेन र रुसी राष्ट्रपति पुटिनबीच भएको छलफलमा परमाणु हतियार नियन्त्रणका सम्बन्धमा वार्ता जारी राख्ने सहमति भएको छ । यस्तै अमेरिका र रुसले पुनः आ–आफ्ना राजदूतहरु पठाउने भएका छन् । गएको मार्चमा दुवै देशले आफ्ना राजदूत फिर्ता बोलाएका थिए ।
यसैक्रममा अमेरिकी कम्पनी तथा सरकारी निकायमा हुँदै आएका साइबर आक्रमण, युक्रेन तथा रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीका सम्बन्धमा खासै सुधार हुन सकेन । हाल नाभाल्नी साढे दुई वर्षको जेल सजाय काटिरहेका छन् । यदी रुसी विपक्षी नेता नाभाल्नीको जेलमै निधन भएको खण्डमा रुसले गम्भीर परिणामको सामना गर्नु पर्ने अमेरिकी राष्ट्रपति बाइडेनले चेतावनी दिएका छन् ।