कास्की – गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने तयारी गर्नुभएको छ । असार ४ गते नै विश्वासको मत लिएर मन्त्रालय बाडफाँड टुंग्याउने र प्रदेशसभामा बजेट छलफल अघि बढाउने पोखरेलको तयारी छ । जेठ २९ गते मुख्यमन्त्री नियुक्त हुनुभएका उहाँलाई विश्वासको मत लिन एक महिना समय भए पनि मन्त्रालय बाँडफाँडअघि नै विश्वासको मत लिएर ढुक्क हुन खोज्नुभएको हो ।

आगामी असार ‘४ गते नै विश्वासको मत लिएर मात्र बजेटमाथि छलफल र मन्त्रालय बाँडफाँडको टुङ्गो लाग्ने भएको छ,’ सरकारका प्रवक्तासमेत रहेका मन्त्री कुमार खड्काका अनुसार, ‘यसका लागि प्रदेशसभा सचिवालयमा सूचना दर्ता भइसकेको छ ।’ नेपाली काङ्ग्रेस प्रदेशसभा संसदीय दलका नेता पोखरेल नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र एक स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएको हो । गठबन्धनमा रहेको दलमध्ये राष्ट्रिय जनमोर्चाले सरकारमा सहभागी नहुने तर गुण र दोषको आधारमा समर्थन र विरोध गर्ने बताएको छ । अरु दलभित्र भने मन्त्री र मन्त्रालयका विषयमा विवाद छ ।

हाल विना विभागीय मन्त्री रहेका नेपाली काङ्ग्रेसका कुमार खड्का र जनता समाजवादी पार्टीका हरिशरण आचार्यले आर्थिक मामिला तथा योजना मन्त्रालय ताक्दै बस्नुभएको छ । आचार्यले आर्थिक मामिला नपाए भौतिक पूर्वाधार मन्त्रालय चाहिने अडान राख्नु भएको छ, भौतिक पूर्वाधारमा नै स्वतन्त्र सांसद दीपक मनाङेको पनि दाबी छ । मन्त्रालयको बाँडफाँडका कारण विवाद हुन सक्ने भएकाले त्यसअघि नै विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री पोखरेल देखिनु भएको छ । प्रदेशका ११ मन्त्रालयमध्ये कांग्रेस र माओवादीलाई ४/४, जनता समाजवादीलाई २ र एक स्वतन्त्र मनाङे गरी ११ मन्त्रालय बाँडफाँट हुने एक नेताले बताउनुभयो ।