काठमाडौं – साताको दोस्रो दिन सोमबार ३ हजार भन्दा माथि पुगेर नयाँ रेकर्ड कायम भएको सेयर कारोबार मापक नेप्से परिसूचक साताको चौथो दिन आज बुधबार भने ३ हजार भन्दा तल झरेको छ । बुधबार प्रिओपन सेसनमा नै ३२ अङ्कले घटेको नेप्से परिसूचक कारोबार खुला भएसँगै पनि ओरालो लागेको थियो । बजार बन्द हुँदा नेप्से परिसूचक ५२ दशमलव ४१ अङ्कले घटेर २ हजार ९ सय ६९ दशमलव ६९ अङ्कमा पुगेको छ ।

साताको पहिलो दिन आइतबार २ हजार ९ सय ८३ अङ्कमा पुगेको नेप्से परिसूचक सोमबार ३ हजार माथि पुगेर रेकर्ड कायम भएको थियो । हिजो मङ्गलबार झिनो अङ्कले ‘करेक्सन’ देखिएता पनि परिसूचक ३ हजार माथि नै रोकिएको थियो ।

आज बुधबार भने ३ हजार भन्दा तल झरेको छ । नेपाल धितोपत्र बोर्डले मङ्गलबार सूचीकृत कम्पनीहरु मध्ये ५१ कम्पनीको नाम नै तोकेर जोखिम युक्त भनेपछिको असर सेयर बजारमा देखिएको छ । बोर्डले उल्लेख गरेका अधिकांश कम्पनीहरुको सेयर मूल्य घटिरहेको छ । कारोबार रकम भने १५ अर्ब ४८ करोड रुपैयाँ माथि पुगेको थियो ।