स्याङ्जा– स्याङ्जा जिल्लाको भीरकोटमा आज बिहान जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ६ जना गम्भीर घाइते भएका छन् । भीरकोटबाट बयरघारी बजारका लागि हिंडेकोे जीप भीरकोट ४ कै सेन्थुम्का नजिकै दुर्घटनामा परेको हो । उक्त दुर्घटनामा परी शख्त घाइते भएका भीरकोट ३ का ३६ वर्षीय गणेशजङ्ग अधिकारीको कालिका सामुदायिक अस्पताल हेलुमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।
सोही दुर्घटनामा परी घाइते भएका ६ जनालाई प्राथमिक उपचार गरी ६ थप उपचारका लागि पोखरा लगिएकोे भीरकोट ५ का वडाध्यक्ष यामप्रसाद अधिकारीले जानकारी दिनुभएको छ । वडाध्यक्ष अधिकारीका अनुसार घाइते भएका सबै भीरकोट ३ का बासिन्दा हुन् । अविरल वर्षाका कारण बाटो चिप्लो हुँदा दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।