मेलम्ची – सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीका कारण एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार हालसम्म ९ जना बेपत्ता छन् । मेलम्चीभन्दा झन्डै १३ किलोमिटर तल इन्द्रावति गाउँपालिका–७ मा एक जना मृतकको शव फेला परेको सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो । मृतकको पहिचान भने खुलिसकेको छैन् ।

प्रहरी उपरीक्षक अधिकारीका अनुसार अहिलेसम्म जम्मा ४२ जनाको उद्धार गरिएको छ । त्यसमध्ये ३७ जना मेलम्ची खानेपानी आयोजनामा कार्यरत् सिनो हाइड्रोका कर्मचारी रहेको अधिकारीले बताउनुभयो । यसैगरी, मेलम्चीको एक रिसोर्टमा फसेका दुई जना र घरको छतबाट दुई जनाको हेलिकप्टरले उद्धार गरेको छ ।

प्रहरीका अनुसार अविरल वर्षाको कारण देशभरि बाढी–पहिरोले क्षति भएको छ । वर्षाका कारण सिन्धुपाल्चोक, पाल्पा, मनाङ, लमजुङ, अर्घाखाँची, गुल्मी, मकवानपुर, चितवन, नवलपरासी(पूर्व) र बाजुराका केही स्थानहरूमा पहिरो गई सडक अवरोध भएको छ भने बाढीको कारण विभिन्न स्थानहरू डुबानमा परेका छन् ।

मेलम्ची नदीमा मंगलबार आएको बाढीले सोही गाउँपालिका–१ स्थित रहेका सशस्त्र प्रहरी बलको अस्थायी सुरक्षा पोष्ट, चिउरी खर्कको झोलुङ्गे पुल, टिम्बु र नागोटेको सडकको पक्की पुल, सोही गाउँपालिका–७ स्थित ७ वटा ट्राउण्ड माछा फर्म र मेलम्ची नगरपालिका–१० र ११ जोड्ने पक्की पुल बगाएको छ ।