फाइल तस्बिर
काठमाडौं – दुईदिनदेखि परेको अविरल बर्षाले गर्दा सिन्धुपाल्चोकको हेलम्बुमा ठूलो बाढी र पहिरो गएको छ । उक्त बाढी र पहिरोमा परी ५० जनाभन्दा बढी मानिसहरु बेपत्ता भएको स्थानीय प्रशासनले बताएको छ । हेलम्बु गाउँपालिका–१ मा गएको पहिरोले तिम्बु बजारका सात घर तथा गाउँपालिकामा रहेका सातवटा रेम्बो ट्राउट माछा पालन गर्ने ९ वटा फर्मका पोखरीहरु बगाएको छ ।

स्थानीय वडा नं २ का वडाध्यक्ष छिरिङ ग्याल्बु लामाका अनुसार मंगलबार साँझ ६ बजे गएको पहिरोमा परी मेलम्ची खानेपानी आयोजनामा कार्यरत ३९ जना तथा माछा फर्ममा कार्यरत ११ जना हराइरहेका छन् । तिम्बु बजारका बासिन्दाहरु भने सुरक्षित स्थानमा रहेको उनले बताए छन् । स्थानीय सुरक्षा निकाय बेपत्ता भएकाहरुको खोजी तथा उद्धारको काममा लागेका छन् । बाढी र पहिरोका कारण बाटोसमेत अवरुद्ध हुँदा उद्धार र खोजीकार्यमा कठिनाइ भएको छ ।

वडाध्यक्ष लामाले बनाएअनुसार मेलम्ची खानेपानी आयोजनाको मुहान रहेको हेलम्बुमाथिबाट पहिरो आउँदा गाउँपालिकाको वडा नम्बर १, २, ३, ४, ६, ७ मा प्रभाव परेको छ । पहिरो र बाढीले गर्दा विभिन्न वडामा रहेका माछा पालिएका पोखरीहरु समेत बगाएको छ । यसैगरी वडा नम्बर ७ को चनौटे बजारका साथै बजारमुनिको पहिरो र त्योभन्दा तल मेलम्ची खोला रहेकाले बस्ती उच्च जोखिममा रहेको वडाध्यक्ष छिरिङ ग्याल्बु लामाले बताएका छन् ।