धनुषा – प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष ०७८÷७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट घोषणा गरेको छ । चालूखर्च तर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार, पुँजीगत तर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार र वित्तीय व्यवस्थापनतर्फ १० करोेड बजेट विनियोजन गरिएको छ ।

आज मङ्गलबार प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादवले सो बजेट प्रस्तुत गर्नुभएको हो । बजेटमा स्वास्थ्य क्षेत्र तर्फ कोभिड नियन्त्रण, रोकथाम तथा उपचारका लागि प्रदेश सरकारले २० करोड बजेट छुट्याएको छ । यस्तै कोरोनाको रोकथाम, औषधी र खोपका लागि बजेट अभाव नहुने पनि उहाँले बताउनुभएको छ ।

सबै अस्पतालमा उपचारको व्यवस्था गरिने उल्लेख गर्दै मन्त्री यादवले अक्सिजन प्लान्ट र सिलिन्डर खरिदका लागि समेत बजेट व्यवस्था गरेको जानकारी दिनुभयो ।

यस्तै मन्त्री यादवले मझौला सिँचाइ आयोजनाका लागि ४१ करोड रुपैयाँ बजेट विनियोजन गरिएको पनि जानकारी दिनुभयो । त्यस्तै प्रदेशका अस्पतालहरूमा मृगौला बिरामीहरूको बढ्दो चापलाई दृष्टिगत गर्दै ३५ वटा डायलासिस मेसिन खरिद गर्नका लागि १२ करोड रुपैयाँ विनियोजन गरिएको छ ।