हेटौंडा – बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि कुल ५७ अर्व ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
बागमती प्रदेशसभाको आज ४ बजे बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले आगामी आर्थिक वर्षको कुल ५७ अर्व ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बजेट प्रस्तुत गर्नु भएको हो ।
कोरोना नियन्त्रण तथा रोकथाम र उपचारलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट तयार पारेको जनाएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि पूँजीगत तर्फ २९ अर्व १ करोड ७७ लाख ४३ हजार रुपैयाँ र चालुतर्फ २६ अर्व १ करोड ४६ लाख २३ हजार रुपैयाँ र वित्तीय तर्फ २ अर्व रुपैयाँ बजेट विनियोजन गरेको छ ।
बागमती प्रदेश सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले २ अर्ब बजेट व्यवस्था गरेको छ । आगामी आर्थिक वर्षमै अस्पतालमा स्वास्थ्य सम्बन्धी यन्त्रहरुको जडान, दक्ष कर्मचारीको व्यवस्थापन लगायतका काम प्रभावकारी बनाउने मन्त्री ढुङ्गेलले बजेट भाषणमा घोषणा गर्नु भएको छ ।
प्रदेश सरकारले लागू गरेको एक विद्यालय एक नर्स कार्यक्रमलाई निरन्तरता दिँदै २६ करोड रकम विनियोजन गरिएको छ । सरकारले बजेट मार्फत् मुख्यमन्त्रीले जनता स्वास्थ्य परिक्षण कार्यक्रमका लागि २२ करोड विनियोजन गर्नुभएको छ ।